एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक ग्राहम पोटरको पद धरापमा परेको छ। चेल्सीको निरन्तरको कम्जोर प्रदर्शन सँगै पोटरको प्रशिक्षक पद धरापमा परेको हो। ब्राइटनको प्रशिक्षक हुँदा धेरै राम्रो गर्न सकेका पोटरले चेल्सीलाई भने राम्रो दिशा दिन सकेका छैनन्।
पोटर सन् २०२२ को सेप्टेम्बर महिनामा चेल्सी आइपुगेका थिए। तत्कालिन प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गर्दै चेल्सीले पोटरलाई भित्र्याएको थियो। चेल्सी आएको केहि समय राम्रो नतिजा निकाल्न सकेपनि त्यसपछि भने पोटरले चेल्सीबाट राम्रो नतिजा निकाल्न सकेका छैनन्।
चेल्सीले पछिल्ला ६ खेल मध्ये ४ खेलमा हार बेहोरेको छ। प्रिमियर लिगको कुरा गर्न हो भने चेल्सी अहिले लिगको १० औं स्थानमा रहेको छ। चेल्सीले प्रिमियर लिगको जारी सिजनमा खेलेका मध्ये आधा खेल पनि जित्न सकेको छैन। सिजनका १७ खेल खेल्दा उसले मात्रै ७ खेलमा जित निकालेको छ र ६ खेलमा पराजित भएको छ।
चेल्सीले यस बीचमा ४ खेलमा बराबरी खेलेको छ। दशौँ स्थानमा रहेको चेल्सीको २५ अंक रहेको छ। प्रिमियर लिगको शिर्ष स्थानमा रहेको आर्सनल भन्दा चेल्सी १९ अंकले पछाडी छ। त्यस्तै शिर्ष चारको कुरा गर्ने हो भने प्रिमियर लिगको चौंथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड चेल्सी भन्दा १० अंकले अगाडी छ।
चेल्सीको पछिल्लो कम्जोर लयसनागी क्लब मालिक टोड बोहलीले पोटरलाई बर्खास्त गर्ने तयारी गरिरहेको खेल मिडियाहरु बताउँछन्। गत सेप्टेम्बरमै टुचेललाई बर्खास्त गरिँदा चेल्सीले गलत निर्णय गरेको चर्चा चलेको थियो।
अहिले सो चर्चा सहि थियो भन्ने प्रमाणित हुँदै गएको छ। यति बेला चेल्सी क्लबमा केहि खेलाडी थप्ने र नयाँ प्रशिक्षक पनि भित्र्याउने योजनामा रहेको बताइन्छ। उपयुक्त प्रशिक्षक भेटिने बितिकै पोटरको जागिर जाने बताइन्छ।