एजेन्सी – इंग्लिस क्लब लिभरपुलले नेदरल्यान्ड्सका विंगर फरवार्ड कोडी गाक्पोलाई अनुबन्ध गर्ने पक्का भइसकेको छ। गाक्पोको विषयमा लिभरपुलले पीएसभी आइन्डहोभनसँग सहमति गरिसकेको छ।
२३ वर्षीय गाक्पोले फिफा विश्वकप कतार २०२२ मा नेदरल्यान्ड्सलाई क्वार्टरफाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए। उनले विश्वकपमा तीन गोल गरेका थिए। गाक्पोको शुल्क ४० देखि ५० मिलियन युरो हुने अपेक्षा गरिएको छ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पनि गाक्पोलाई भित्र्याउन चाहेको थियो। तर गाक्पोलाई लिभरपुलले हाइज्याक गर्यो। लिभरपुल गाक्पोमै सिमित हुने मुडमा रहेको छैन। बेलायती मिडियाहरुका अनुसार लिभरपुलले आउने समयमा थप खेलाडी पनि भित्र्याउने छ।
लिभरपुलले यस जनवरी ट्रान्सफर विन्डोमा अब मिडफिल्डर भित्र्याउन सक्छ। यस बेला लिभरपुल सबै भन्दा को क्लबका लागि उपयुक्त हुन्छ भन्ने अध्ययनमा जुटेको छ। यति बेला लिभरपुलले भित्र्याउन सकिने केहि खेलाडीको सूची समेत बनाएको छ।
लिभरपुलको सूचीमा जुडे बेलिङ्घम, एन्जो फर्नान्डेज र सोफयान अम्राबात रहेका छन्। बेलिङ्घम र फर्नान्डेज भित्र्याउन लिभरपुललाई धेरै कठीन हुने अवस्था छ। दुवै खेलाडीका लागि लिभरपुलले १ सय मिलियन युरो भन्दा बढी रकम खर्च गर्नुपर्ने खेल मिडियाहरु बताउँछन्।
यधपी अम्राबात भने कम बजेटमा उपलब्ध हुन सक्छन्। लिभरपुलले अम्राबातका प्रतिनिधिहरुसँग सम्पर्क सकेको बताइन्छ। उनले विश्वकपमा उच्च प्रदर्शन गरेका थिए। मोरोक्को सेमिफाइनलसम्म पुग्दा उनको महत्वपूर्ण भूमिका थियो। उनको ट्रान्सफर बजार मूल्य २५ मिलियन युरो रहेको छ। तर विश्वकपमा उच्च प्रदर्शन गरेपनि उनको मूल्य बढ्ने पक्का छ।