एजेन्सी – आर्सनलका कप्तान मार्टिन ओडेगार्डले आफू लिभरपुल समर्थक रहेको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा ओडेगार्डले आफू बाल्यकालमा लिभरपुल समर्थक रहेको बताएका हुन्।
एनआरकेसँग कुराकानी गर्नेक्रममा ओडेगार्डले आफ्ना पिता लिभरपुल समर्थक रहेका कारण बाल्यकालमा आफू पन्नी लिभरपुलकै समर्थक रहेको बताए।
“मेरो बुबा लिभरपुलको ठूलो फ्यान हुनुहुन्थ्यो। त्यसैले हुर्कदै गर्दा मसँग कुनै विकल्प थिएन। त्यहाँ आर्सनल पनि थियो, तर लिभरपुल वास्तवमा मेरो टोली थियो।”,ओडेगार्डले भने।
बाल्यकाल देखि आफू लिभरपुलको समर्थक रहेपनि उनले तत्काल आफू लिभरपुल आवद्ध हुने सम्भावना भने नरहेको बताए। अन्तर्वार्ताका क्रममा उनले आफू लामो समय सम्म आर्सनलमा रहन चाहेको बताउन छुटाएनन्।
उनले भने,”पछिल्ला वर्षहरुमा मेरो धेरै ट्रान्सफर भएको छ। यहाँ ल्याण्ड भएपछि राम्रो अनुभूति गरिरहेको छु। मलाई लाग्छ यो नै त्यो स्थान हो, जहाँ म हुन चाहन्छु। म यहाँ धेरै वर्षसम्म रहनेछु। आएको सुरुवात देखि मलाई आफ्नै घर जस्तै महसुस भइरहेको छ। मलाई धेरै राम्रोसँग स्वागत गरिएको थियो। मलाई सुरुदेखि नै समूहको हिस्सा भएको महसुस भयो, त्यसैले यहाँ आउन पाउँदा धेरै राम्रो लाग्यो।”,ओडेगार्डले भने।