एजेन्सी – विश्वकप पछिको पहिलो प्रिमियर खेलमा लिभरपुलले जित निकाल्यो। सोमबार राति भएको खेलमा एस्टन भिल्ला विरुद्ध बलियो प्रदर्शन मात्र गरेन, जित पनि निकाल्यो। भिल्ला विरुद्ध लिभरपुलले सुधारिएको प्रदर्शन गरेको थियो।
खेलभर बलमा लिभरपुलको ५२ प्रतिशत नियन्त्रण रह्यो। खेलभर लिभरपुलको तर्फबाट कुल १६ प्रहार भएका थिए। जसमध्ये ९ प्रहार टार्गेटमा थिए। ती मध्ये तीन प्रहार गोलमा परिणत भए। त्यस्तै भिल्लाको तर्फबाट भने कुल १२ प्रहार भए। जसमा ६ प्रहार टार्गेटमा थिए।
खेलभर लिभरपुलका स्टार फरवार्ड मोहम्मद सलाहले उच्च प्रदर्शन गरेका थिए। खेलमा उनले एक असिस्ट प्रदान सँग-सँगै एक गोल गरेका थिए। त्यस्तै यसै सिजन लिभरपुल आइपुगेका अर्का फरवार्ड डार्विन नुनेजले पनि सन्तोषजनक प्रदर्शन गरे।
गोल गर्न नसकेपनि उनले उच्च प्रदर्शन गरेका थिए। खेलपछि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले नुनेजको खुलेर प्रशंसा गरे। खेलभर नुनेजले धेरै राम्रो खेलेको क्लोपको भनाई छ। भिल्ला विरुद्धको खेलमा गोल गर्न नसकेपनि नुनेजले आगामी खेलहरुमा गोल गर्ने क्लोपले विश्वास व्यक्त गरे।
“नुनेजले आज जस्तो खेले त्यो अविश्वसनीय छ। जीवन अनुचित छ। एक इन्च तल माथि हुँदा गोल हुँदैन। आज गोल गर्न नसकेपनि आगामी खेलहरुमा उनले गोल गर्नेछन्। यसमा कुनै शंका छैन। उनीसँग अविश्वसनीय शक्ति छ।”,क्लोपले भने।
सिजन अगाडी बढ्दै नुनेजको खेल सुध्रिनेमा क्लोप ढुक्क छन्। उनले नुनेज जस्तै अन्य खेलाडीहरु पनि सुरु-सुरुमा चुकेको देखेको बताए। नुनेजले समयसँगै आफ्नो खेललाई सुधारेर लैजानेमा क्लोप ढुक्क देखिए।