एजेन्सी – म्यानचेस्टर सिटीका लेजेन्ड सर्जियो अगुएरोले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पोर्चुगलका कप्तान क्रिस्टियानो भन्दा उत्कृष्ट र पूर्ण खेलाडी रहेको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा अगुएरोले मेस्सी रोनाल्डो भन्दा उत्कृष्ट रहेको बताएका हुन्।
एक अन्तर्वार्ताका क्रममा अगुएरोलाई मेस्सी र रोनाल्डोमा मेस्सीलाई उत्कृष्ट मान्न सकिन्छ भनेर प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा अगुएरोले मेस्सी विश्वकप जिते पनि नजितेपनि रोनाल्डो भन्दा उत्कृष्ट खेलाडी रहेको जवाफ दिए।
त्यसक्रममा अगुएरोले रोनाल्डोको करियर असाधारण र पूर्ण रहेको बताउन भने छुटाएनन्। रोनाल्डो धेरै राम्रो खेलाडी रहेपनि उनी भन्दा मेस्सी उत्कृष्ट रहेको अगुएरोको भनाई छ।
“मलाई लाग्दैन कि मेस्सी आफ्नो पुस्ताको सबैभन्दा महान खेलाडीमा पर्छन् भन्नेमा कुनै शङ्का मान्नुपर्छ। मलाई विश्वकप अगाडी पनि कुनै शंका थिएन र विश्वकप सकिएपछि त हुने कुरै भएन। क्रिस्टियानोको करियर असाधारण छ र उनी पूर्ण खेलाडी हुन्। तर लियो स्पष्ट रूपमा सबै भन्दा राम्रो खेलाडी थिए र छन्।”,जवाफ दिनेक्रममा अगुएरोले भने।
फुटबलबाट सन्यास लिनु भन्दा अगाडी अर्जेन्टिनाका लागि १ सय १ खेल खेलेका अगुएरोले विश्वकप उपाधि मेस्सीको दृढताका कारण प्राप्त इनाम हो। कहिल्यै हार नमान्ने भएका कारणले गर्दा पनि मेस्सी विश्वकप विजेता बनेको अगुएरोको भनाई छ। अगुएरोले मेस्सी सधैं एक सच्चा लिडर रहेको दावी समेत गरे।
उनले भने,”यो उसको दृढताको लागि इनाम हो। कहिल्यै हार नमान्ने र सधैं बदला लिन चाहने र धेरै राम्रो टोली बनाएको प्रशिक्षण टोलीको मिहिनेतका कारण सम्भव भएको सफलता पनि हो। लियो सधैं एक लिडर थिए र छन्। उनले टोलीको ज्योति बन्न कहिल्यै छाडेनन्।”