एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले विश्वकपमा उच्च प्रदर्शन गरेका एक खेलाडी भित्र्याउने योजना बनाएको छ। बार्सिलोनाले क्रोएसिया र सेल्टिक राइट ब्याक जोसिप जुरानोभिकलाई भित्र्याउने योजना बनाएको हो।
विश्वकपमा उच्च प्रदर्शन गरेपछि बार्सिलोना जुरानोभिकलाई भित्र्याउने मुडमा पुगेको विभिन्न स्पेनिस मिडियाहरुले जनाएका छन्। जुरानोभिकले मोरक्को विरुद्ध तेस्रो स्थानको प्लेअफ खेल भन्दा अगाडीका सबै क्रोएसियाका खेलमा खेलेका थिए।
विश्वकपमा निरन्तर उच्च प्रदर्शन गरेका कारण उनी बार्सिलोनाको नजरमा परेका हुन्। तर जुरानोभिकलाई भित्र्याउन चाहनेमा बार्सिलोना एक्लो क्लब होइन। युरोपका अन्य क्लबले पनि जुरानोभिकको अवस्थालाई धेरै नजिकबाट नियालिरहेका छन्।
लालिगाकै अर्को क्लब एट्लेटिको म्याड्रिडले पनि जुरानोभिकलाई भित्र्याउन चाहिरहेको छ। जुरानोभिकलाई छिट्टै समपर्क गर्ने तयारीमा एट्लेटिको छ। त्यस्तै प्रिमियर लिगबाट पनि केहि क्लबहरु जुरानोभिक भित्र्याउने दौडमा देखिएका छन्।
जुरानोभिक भित्र्याउने चाहने प्रिमियर लिग क्लबहरुमा न्युक्यासल युनाइटेड, चेल्सी, म्यानचेस्टर युनाइटेड र वेस्ट ह्याम युनाइटेड रहेका छन्। यी चारै क्लबले बार्सिलोना र एट्लेटिकोलाई टक्कर दिन सक्छन्।
सेल्टिकमा जुरानोभिकको अझै साढे ३ वर्ष सम्झौता बाँकी छ। विभिन्न क्लबहरुबाट प्रस्ताव आउने पक्का भएपनि सेल्टिकले जनवरी ट्रान्सफर विन्डोमै उनलाई बिक्री गर्ने भने कुनै योजना बनाएको छैन।