एजेन्सी – महान फुटबलर डिएगो म्याराडोनाका छोरा डिएगो अर्मान्डो म्याराडोना जुनियरले अर्जेन्टिना विश्वकप विजेता बन्दा डिएगो म्याराडोना मख्ख रहेको बताएका छन्। अर्जेन्टिनाले विश्वकप जितेपछि सामाजिक संजाल मार्फत म्याराडोना जुनियरले म्याराडोना माथि स्वर्गमा खुसियाली मनाइरहेको बताएका हुन्।
त्यसक्रममा म्याराडोना जुनियरले मेस्सीको पनि प्रशंसा गरेका छन्। विश्वकपमा मेस्सी जति हकदार कोही पनि नभएको उनको भनाई छ। मेस्सीले विश्वकप जित्दा आफूलाई धेरै नै खुशी लागिरहेको उनले इन्स्टाग्राममा उल्लेख गरेका छन्।
“र्जेन्टिना विश्व कप च्याम्पियन हो। लियो मेस्सी, म तपाईका लागि धेरै खुशी छु। किनकि तिमी भन्दा बढी यो कपको हकदार कोही थिएन। मेरो देश र मेरो देशका जनता सबैका लागि खुशी छु। मैले सधैं तिम्रो आत्मामा अर्जेन्टिनी हो भन्ने महसुस गरेको छु। मेरो बुबा माथि उत्सव मनाउँदै हुनुहुन्छ होला। म तिमीलाई कति अँगालो हाल्न चाहन्छु भन्ने कुरा भनेर साध्ये छैन।”,म्याराडोना जुनियरले सामाजिक संजालमा लेखेका छन्।
गएको डेढ दशक भन्दा लामो समय देखि विश्व फुटबलमा राज गरिरहेका मेस्सीले आइतबार मात्र पहिलो विश्वकप जिते। करियरभर अनेक उपाधि जितेपनि विश्वकप जित्न नसकेका मेस्सीले यस पटक विश्वकप जितेका हुन्।
विश्वकपको फाइनलमा मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले टाइब्रेकरमा फ्रान्सलाई पराजित गर्यो। फाइनलमा मेस्सीले उच्च प्रदर्शन गरेका थिए। खेलभर अर्जेन्टिनाको तर्फबाट भएका तीन गोल मध्ये सबैमा मेस्सीको भूमिका थियो। मेस्सीले फाइनलमा २ गोल गर्दै एक असिस्ट दिएका थिए।
मेस्सी विश्वकपको सर्वोत्कृष्ट खेलाडी समेत घोषित भएका थिए।