लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो विश्व फुटबलका महान खेलाडीमा पर्छन्। आधुनिक युगका दुई भगवान समान खेलाडी हाल विश्वकप २०२२ मा आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दै छन्। मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई र रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई अन्तिमा ८ सम्म पुर्याएका छन्।
कतार विश्वकप २०२२ को क्वाटरफाइनलमा पुग्ने सबै ८ टोली कै नाम आइसकेका छन्। पहिलो क्वाटरफाइनलमा शुक्रबार ब्राजिल र क्रोएसिया भिड्दैछन् भने शुक्रबार नै हुने दोस्रो खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्स बीच प्रतिस्पर्धा हुनेछ। यी दुई खेलका विजेता फाइनल प्रवेशका लागि सेमीफाइनल चरणमा भिड्नेछन्।
त्यस्तै, शनिबार हुने अर्का दुई क्वाटरफाइनलमा पोर्चुगल र मोरोक्कोका साथै फ्रान्स र इंग्ल्याण्ड एक-अर्कासँग प्रतिस्पर्धा गर्नेछन्। यी दुई खेलका विजेता फाइनल खेलमा पुग्न भिड्नेछन्। यस्तोमा, मेस्सीको अर्जेन्टिना र रोनाल्डोको पोर्चुगल फाइनलमा भिड्ने सम्भावना रहेको छ। हरेक फुटबल समर्थकको चाहना मेस्सी र रोनाल्डोलाई विश्वकप फाइनलमा हेर्नु रहेको छ। यदि अर्जेन्टिना र पोर्चुगल दुवैले आ-आफ्ना दुई खेल जितेको खण्डमा फुटबल जगतको यो सपना पूरा हुनेछ।
यद्यपी दुवै टोली सेमीफाइनलमा आ-आफ्नो खेल गुमाउँन पुगे भने तेस्रो स्थानको खेलका लागि यी दुई सुपरस्टार खेलाडी एक आपसमा भिड्नेछन्। के तपाईं पनि अर्जेन्टिना र पोर्चुगल बीच विश्वकप फाइनल हेर्न चाहनुहुन्छ ?