एजेन्सी – स्विजरल्याण्डका फुटबलर जेर्डान शाकिरीले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसँग आफूहरु सचेत हुने बताएका छन्। विश्वकपमा पोर्चुगल र स्विजरल्याण्ड आमने-सामने हुनु भन्दा अगाडी पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा शाकिरीले रोनाल्डोसँग आफूहरु सचेत भएर खेल्ने बताएका हुन्।
खेल अगाडी आयोजित पत्रकार सम्मेलनमा उनले रोनाल्डोको विषयमा के धारणा छ भनेर प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा रोनाल्डोलाई अहिले पनि नजर अन्दाज गर्न नसकिने बताए। रोनाल्डोसँग धेरै राम्रो अनुभव रहेको र जुन सुकै समयमा खेललाई परिवर्तन गर्ने क्षमता रहेको उनको भनाई छ।
“क्रिस्टियानोलाई नजरअन्दाज गर्न सकिँदैन। लियोनेल मेस्सीसँगै उनी विश्वको सबै भन्दा उत्कृष्ट खेलाडी रहेका छन्। रोनाल्डोले जुन सुकै बेला गोल गर्न सक्छन् र खेललाई परिवर्तन गर्न सक्छन्। रोनाल्डोको क्षमतालाई कम्जोर माने गल्ती हुन्छ। उनीसँग अनुभव छ र सबैलाई थाहा छ कि उनी पोर्चुगल र उनको टोलीका लागि कति महत्त्वपूर्ण छन्।”,शाकिरीले भने।
रोनाल्डो बाहेक पोर्चुगलका अन्य खेलाडीहरु पनि राम्रो रहेको शाकिरीले बताए। ठूला खेलमा फरक पार्न सक्ने खेलाडीहरु पोर्चुगलको टोलीमा रहेको उनले उल्लेख गरे। उनका अनुसार खेलको अन्त्य सम्म स्विजरल्याण्डले मिहिनेत गर्नुपर्नेछ।
उनले भने,”पोर्चुगलमा रोनाल्डोका अलावा अन्य खेलाडीहरु पनि छन्। ठूला खेलमा फरक पार्ने खेलाडीहरु त्यहाँ छन्। साथै युवा खेलाडीहरुको पनि त्यहाँ राम्रो जमात छ। हामीले अन्तिम समय सम्म मिहिनेत गर्नुपर्नेछ।”