एजेन्सी – फ्रान्सआ युवा स्टार किलियन एम्बाप्पेले आफू गोल्डेन बल जित्नको लागि कतार नआएको बताएका छन्। फ्रान्सले क्वाटरफाइनलको यात्रा तय गरेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा एम्बाप्पेले आफू गोल्डेन बल जित्नको लागि कतार नआएको बताएका हुन्।
आइतबार राति फ्रान्सले विश्वकपको नकआउट चरणमा पोल्याण्डलाई पराजित गर्यो। पोल्याण्ड विरुद्ध फ्रान्सले ३-१ को गोल निकालेको हो। फ्रान्सको तर्फबाट भएका तीन गोल मध्ये दुई गोल एम्बाप्पेले गरेका थिए। पोल्याण्ड विरुद्ध दुई गोल गरेसँगै जारी प्रतियोगितामा एम्बाप्पेको गोल संख्या पाँच पुगेको छ।
यससँगै विश्वकप गोल्डेन बुटको दौडमा एम्बाप्पे सबै भन्दा अगाडी देखिएका छन्। गोल्डेन बुट बारे पत्रकारहरुले प्रश्न राख्दा एम्बाप्पेले आफंप प्राथमिकतामा गोल्डेन बल भन्दा पनि विश्वकप उपाधि रहेको बताए।
“मेरो एउटै लक्ष्य भनेको विश्वकप जित्नु हो जसको मतलब अब क्वार्टरफाइनल जित्नु हो। मैले देखेको सपना यही हो। म यहाँ गोल्डेन बल जित्न आएको होइन। यहाँ फ्रान्सेली राष्ट्रिय टोलीलाई मद्दत गर्न र विश्वकप जित्न आएको हुँ”,एम्बाप्पेले भने।
पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा एम्बाप्पेले सिजनकोस सुरुवात देखि नै आफूले विश्वकपका लागि तयारी गरिरहेको बताए। एम्बाप्पेका अनुसार उनले सिजनको सुरुवात देखि नै विश्वकपलाई ध्यानमा राखेर आफूलाई शारीरिक र मानसिक रुपमा तयार पारिरहेका थिए।
उनले भने.”निस्सन्देह, यो विश्वकप मेरो लागि सबै भन्दा महत्वपूर्ण छ। यो मेरो सपनाको प्रतिस्पर्धा हो। मैले यस प्रतियोगिताकै लागि लागि सिजनको सुरु देखि नै आफूलाई शारीरिक र मानसिक दुवै रूपमा तयार गरिरहेको थिएँ।”