क्रोएसियालाई झड्का दिएर क्वाटरफाइनल पुग्ने दाउमा जापान ! सफल होला योजना ?

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (सोमबार) प्रि–क्वाटरफाइनलको पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यस विश्वकपमा जाइन्ट किलर तथा कमब्याक किङ बनेको जापानले अल जानोब स्टेडियममा सोमबार राति अन्तिम १६ को भिडन्तमा क्रोएसियासँग खेल्दा अर्को प्रभावशाली नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।

हाजिमे मोरियासुको टोली दुई विश्व च्याम्पियन स्पेन र जर्मनी रहेको समूहबाट समूह विजेता बन्दै बनेको जापान क्रोएसियाविरुद्ध पनि सोही नतिजा निकाल्न चहान्छ । जापानले समूह चरणमा स्पेन र जर्मनीलाई पराजित गर्दा उत्कृष्ट पूनरागमन जित निकालेको थियो ।

जापान विश्वकपमा दुई विश्व च्याम्पियन सन् २०१० (स्पेन) र २०१४ (जर्मनी) लाई हराउने टोली हो । जापान अझै पनि विश्वकपमा आफ्नो पहिलो क्वार्टरफाइनलको लागि पर्खिरहेको छ । मोरियासुको सुपर सब्सले पुन एकपटक नतिजा आफ्नो पक्षमा पार्न भर मग्दुर प्रयास गर्नेछ ।

प्रतिबन्धका कारण डिफेन्डर इटाकुरा क्रोएसियाविरुद्ध हुनेछैनन् । मिडफिल्डर वाटारु एन्डो फिट भइसकेका छन् । राइट–ब्याक हिरोकी साकाई पनि प्रशिक्षणमा सामेल भइसकेका छन् । मांशपेशीको चोटका कारण ताकेफुसा कुबोले खेल्नेमा शंका छ ।

यता, विश्व उपविजेता क्रोएसिया भने समूहमा दोस्रो भएपछि जापानसँग प्रि–क्वाटरफाइनल खेल्दैछ । विश्व उपविजेता क्रोएसियाको टोलीमा अनुभवी खेलाडीको बाहुल्यता रहेको छ ।

त्यही अनुभवी खेलाडीको टोली कमब्याक किङ जापानलाई हराएर क्वाटरफाइनलमा पुग्न चहान्छ । मिडफिल्डमा निकै बलियो देखिएको क्रोएसियाले डिफेन्समा पनि संगठित प्रदर्शन गरिरहेको छ ।

यि दुई टोली चौथोपटक आमाने–सामाने हुन लागेको हो । पहिलोपल्ट सन् १९९७ मा किरिन जापान कपमा जापानले ४–३ को जित निकालेको थियो । १९९८ को विश्वकपमा क्रोएसियाले १–० को जित निकाल्दा २००६ मा विश्वकपमै गोलरहित बराबरी खेलेको थियो ।

प्रकाशित : , ०, ००९:५०

नेइमारको अवस्थामा बारे सबैलाई चासो ! आज खेल्ने सम्भावना कति ?