चम्किए एम्बाप्पे, फ्रान्सको सानदार जित !

कतार  – साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को तेस्रो खेलमा फरवार्ड किलीयन एमबाप्पे चम्केपछि पोल्यान्डलाई हराउँदै फ्रान्स उपाधि रक्षामा अघि बढेको हो ।

आइतबार अल थुमामा रंगशालामा फ्रान्सले ३-० को जित दर्ता गर्यो । फ्रान्सको जितमा दुवै फरवार्ड ओलिभीएर जिरुड र किलीयन एमबाप्पेले गोल गरे । पहिलो हाफको अन्त्यतिर जिरुडको गोलमा अघि बढेको फ्रान्सले दोस्रो हाफको एमबाप्पेको दुई गोलमा जित पक्का गरेको थियो ।

खेलको सुरुवाती समय फ्रान्सले लगातार आक्रमण बुनेपनि गोलरक्षक वोजसिएक सेचेज्नीले बल आफू पार हुन दिएनन् । एकपटक सेचेज्नी बिट भएको अवस्थामा जिरुडले गम्भीर गल्ति गर्दा फ्रान्स अघि बढ्न सकेन । लगत्तै अर्को तर्फ पोल्यान्डले पनि अघि बढ्ने अवसर गुमाएको थियो । तर पहिलो हाफको अन्तिम मिनेटमा जिरुडले फ्रान्सलाई अघि बढाए ।

दोस्रो हाफमा एमबाप्पेले काउन्टर अट्याकमा आफ्नो गतिको सदुपयोग गर्दै फ्रान्सलाई सहज अवस्थामा पुर्याए । एमबापपेले दुवै गोलमा उत्कृष्ट फिनिसिङ गरेका थिए । प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेका गोलरक्षक सेचेज्नी बारम्बार बाधक बनेपनि एमबाप्पेको दुई गोलमा भने सहि डाइभ दिएर पनि बल बचाउन असफल रहे ।

२८ औं मिनेटमा फ्रान्सले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । ओलिभिएर जिरुडले खाली पोस्टमा गोल गर्न नसक्दा खेल बराबरीमा रहेको थियो । ओस्मान डेम्बेलेले दायाँ विंगबाट दिएको लो क्रसमा डिफेन्स लाइन र गोलरक्षक बिट भएका थिए । तर अनमार्क रहेका जिरुडले फार पोस्टमा बललाई खाली पोस्टको दिशा दिन सकेनन् ।

३५ औं मिनेटमा पोल्यान्डको लगातार तीन आक्रमणलाई फ्रान्सका गोलरक्षक ह्युगो लोरिस र डिफेन्डरहरुले ६ यार्ड बक्सबाट रोके । बायाँ विंगबाट सुरु भएको आक्रमणपछि पेनाल्टी क्षेत्र भित्र पोल्यान्डले तीन पटक रिबाउन्डमा प्रहार गर्न पाउँदा पनि फ्रान्सविरुद्ध अग्रता लिन सकेन ।

पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा जिरुडले गोल गरे । किलीयन एमबाप्पेको पासलाई पेनाल्टी क्षेत्र भित्र लग्ने क्रममा अफसाइड ट्रयाप बिट गरेका उनले वन भर्सेस वनमा फिनिस गरे । यससँगै जिरुड ५२ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सका लागि सर्वाधिक गोलकर्ता पनि बने ।

खेलको ७४ औं मिनेटमा एमबाप्पेले फ्रान्सको उत्कृष्ट काउन्टर अट्याकमा अग्रता दोब्बर पारे । उनले ओस्मान डेम्बेलेको पासमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक सेचेज्नीले बचाउने कुनै अवसर पाएनन् ।

इन्ज्युरी समयको पहिलो मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल थपेपछि फ्रान्सले सहज जित पक्का गर्यो । मार्कस थुरामको पासलाई पेनाल्टी क्षेत्रभित्र रोकेका एमबाप्पेले कठिन एंगलबाट सुन्दर गोल गरे । दुई डिफेन्डरको बीचबाट उनले गरेको प्रहार सेचेज्नीले बचाउन सकेनन् ।

इन्ज्युरी समयमा पोल्यान्डले पेनाल्टी प्राप्त गर्यो । रोबर्ट लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक ह्युगो लोरिसले बचाएपनि रेफ्रीले पुन: प्रहार गर्न निर्णय दिए । अब फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्ड र सेनेगलबीच खेलको विजेतासँग खेल्नेछ । आज हुने अन्तिम १६ को चौथो खेल अल बेयत रंगशालामा मध्यरात १२:४५ बजे हुनेछ ।

प्रकाशित : , ०, ०२२:४३

जिरुड बने फ्रान्सकाे सबै भन्दा बढी गोल गर्ने खेलाडी !