आफ्रिकाको आशा र भरोसा – सेनेगल र मोरक्को

एजेन्सी – सन् १९८६ पछि पहिलोपटक अफ्रिकी टोलीबिना नै चार वर्ष अगाडि विश्वकपको अन्तिम १६ को समीकरण तय भएको थियो। तर, कतार विश्वकप दुई अफ्रिकी राष्ट्र सेनेगल र मोरक्कोका लागि यादगार बन्ने संघारमा छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

किनकी यी दुईले नकआउट चरणमा स्थान बनाएका छन्, जो विश्वकपको इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्ने लक्ष्यमा पनि छन्। सन् २०१४ को विश्वकपमा अल्जेरिया र नाइजेरियापछि नकआउट चरणमा स्थान बनाउने अफ्रिकी राष्ट्र हुन्, सेनेगल र मोरक्को। जारी विश्वकपमा अफ्रिकाका राष्ट्रले कीर्तिमानी कुल २४ अंक बटुले। यस अघि सन् १९९८ मा अफ्रिकी राष्ट्रले सर्वाधिक १५ अंक जोडेको थियो, जुन रेकर्ड यस पटक तोडियो। यो आँकडामा मोरक्कोको योगदान महŒवपूर्ण रह्यो। फिफा विश्व वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियमका साथै क्यानडामाथि जित निकाल्दै मोरक्को समूह ‘ए’ को शीर्ष स्थानमा पुगेको थियो।

अर्को टोली सेनेगलले नेदरल्यान्ड्सविरुद्ध हारको बाबजुद आयोजक कतार र इक्वेडरलाई स्तब्ध बनाएको थियो। यसै विश्वकपमा पहिलोपटक अफ्रिकी राष्ट्र क्यामरुनले पनि पाँच पटकको महारथी ब्राजिललाई पनि स्तब्ध बनायो। ऐतिहासिक जितका बाबजुद क्यामरुन अन्तिम १६ मा पुग्न असफल रह्यो। मोरक्कोले आगामी मंगलबार अन्तिम १६ मा स्पेनको सामना गर्दै छ। मोरक्को ३६ वर्षपछि नकआउट चरणमा पुगेको हो। कतार विश्वकपको अन्तिम १६ मा खेल्ने एक मात्र अरबी राष्ट्र रहेकाले मोरक्कोले स्पेनविरुद्ध अरबी समर्थकको साथ पाउनेछ।

‘स्पेनविरुद्ध अफ्रिकन टोलीको झन्डा फरफराउने आशा गरौं,’मोरक्कोका प्रशिक्षक वालिद रेग्रेगुईले भने, ‘हामीलाई औसतभन्दा तल्लो तहको टोलीका रूपमा हेरिन्थ्यो। तर पछिल्ला खेल केही परिवर्तन भएको होला।’ अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा सन् २०२६ को विश्वकप फुटबल आयोजना गर्दैछन्, जहाँ अफ्रिकन राष्ट्रको सहभागिता पनि बढ्नेछ। ३२ राष्ट्रबीच हुँदै आएको विश्वकप ०२६ देखि ४८ राष्ट्रले खेल्न पाउनेछन्। अहिलेसम्म कुनै पनि अफ्रिकन टोली विश्वकपको सेमिफाइनलमा पुग्न सकेको छैन। तर, यस पटक र सन् २०२६ मा अफ्रिकन टोलीलाई इतिहास रच्ने अवसर हुनेछ।

गत विश्वकपमा सेनेगल नकआउट चरणनजिक रहे पनि पहेंलो कार्डका आधार जापानसँग पछि परेको थियो। सेनेगलले इक्वेडरमाथि जित निकाल्दा कालिडो कोलिबेलीको गोल निर्णायक रह्यो। यसै विश्वकपमा अर्को अफ्रिकन राष्ट्र ट्युनिसियाले साबिक विजेता फ्रान्स र क्यामरुनले पाँच पटक विश्वविजेता ब्राजिललाई १–० ले स्तब्ध बनायो। ब्राजिल पहिलोपटक अफ्रिकन टोलीसँग शुक्रबार स्तब्ध भएको हो। अफ्रिकाका धेरै खेलाडी युरोपका शीर्ष लिगमा खेल्छन्। तीमध्ये अफ्रिकाका स्टार खेलाडी हुन्, मोहमेद सलाह र साडियो माने।

प्रकाशित : , ०, ००८:३९

विवादमा जापानको गोल !