बेल्जियमका खेलाडीहरु बीच नै लफडाको चर्चा, तर के हो वास्तविकता ?

कतार – फिफा विश्वकप कतार २०२२ अन्तर्गत बेल्जियमले समूह चरणको दोस्रो खेलमा मोरक्कोसँग हार बेहोर्यो । खेलपछि ड्रेसिङ रुममा खेलाडीबीच विवाद भएको भन्दै सामाजिक संजाल भर चर्चा भयो । तर बेल्जियमका खेलाडी र प्रशिक्षकले यसलाई अस्वीकार गरेका छन् ।

बेल्जियमले पहिलो खेलमा क्यानडामाथि १-० को जित हासिल गरेको थियो । जित हात पारेपनि बेल्जियमको प्रदर्शन सोचेअनुरुप हुन सकेन । दोस्रो खेलमा मोरक्कोले २-० ले हराएपछि टोलीको मैदानभित्रको समस्या थप उदांगो भयो । तर सामाजिक संजालमा भने मैदानभित्र भन्दापनि मैदानबाहिरको विषयलाई लिएर चर्चा भयो ।

बेल्जियमका सिनियर खेलाडीबीच ड्रेसिङ रुममा विवाद भएको चर्चा सामाजिक संजालमा थियो । त्यसो त पहिलो खेलपछि मिडफिल्डर केभिन डे ब्रुएनले बेल्जियमको टोली बुढो भएको बताउँदै विश्वकप उपाधिको सम्भावना नरहेको बताएका थिए । दोस्रो खेलमा हार बेहोरेपछि डिफेन्डर जान भर्टोन्घनले आक्रमणका खेलाडी बुढो भएकाले गोल गर्न नसकेको भन्दै अभिव्यक्ति दिए । यसकारण पनि बेल्जियमको खेलाडीबीच टकराव रहेको आँकलन रहेको थियो ।

गत संस्करण तेस्रो स्थान हासिल गरेको बेल्जियमले विहीबार क्रोएसियाविरुद्ध जित हासिल गर्न नसके समूह चरणबाट बाहिरिने छ । डिफेन्डर टिमोथी कास्टाग्नेका अनुसार टोलीमा कुनै विवाद नभएको तर आफ्नो धारणा सबैले व्यक्त गरेको बताए ।

‘सुरुवाती दुई खेल हामीले सोचेजस्तो हुन सकेको छैन । हामीले आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न सकेनौं । तर हामी संकटमा परेका छैनौं,’ उनले भने, ‘हामीले खेलपछि आ-आफ्नो धारणा राखेका हौं । समस्या केहि पनि छैन । टोली कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो ।’

यता प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि दबाबका कारण खेल्न नसकेको बताए । ‘हामीले खेलको मजा लिन सकेका छैनौं । जिम्मेवारी धेरै भएको अनुभव भयो,’ उनले भने, ‘खेलाडीलाई हारिन्छ कि भन्ने डर भयो । हामी हार्छौं भन्ने सोच नै हुनु भएन । भोलीलाई कुनै शंका छैन । हामी बराबरी गरेपनि बाहिरिनेछौं ।’

उनले सामाजिक संजालमा आएजस्तो हल्ला केहि नभएको पनि बताए । ‘हामीलाई त्यस्तो केहि भएजस्तो लाग्दैन । नकारात्मक खबर पाएपछि चर्चा बढी हुन्छ । तर त्यस्तो केहि छैन,’ उनले थपे ।

क्रोएसिया र बेल्जियमबीच समूह एफको खेलमा भोली प्रतिस्पर्धा हुँदैछ । बेल्जियमको ३ अंक छ भने क्रोएसियाको ४ अंक छ । यस समूहको अर्को खेलमा ४ अंक जोडेको मोरक्को र अंकविहिन रहँदै बाहिरिसकेको क्यानडा भिड्नेछन् ।

प्रकाशित : , ०, ०२०:२६

समूहचरणको अन्तिम खेलमा एम्बाप्पे बेन्चमा, यस्तो छ सुरुवाती ११ !