कतार – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी मा अन्तिम खेल बाँकी रहँदा सबै चार टोलीको नकआउट चरण पुग्ने सम्भावना छ । आज हुने अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्ड तथा मेक्सिकोले साउदी अरेबियाको सामना गर्दैछ । हालसम्म समूहमा पोल्यान्ड ४ अंक जोड्दै शीर्षस्थानमा छ । अर्जेन्टिना र साउदी अरेबियाको ३-३ अंक हुँदा मेक्सिकोले १ अंक जोडेको छ ।
पहिलो चरणको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २-१ ले पराजित भएको थियो । त्यस्तै पोल्यान्ड र मेक्सिको गोलरहित बराबरीमा रोकिएका थिए । दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले हराउँदा साउदी अरेबिया पोल्यान्डसँग २-० ले नै पराजित भएको थियो ।
अर्जेन्टिनालाई के चाहिन्छ ?
अर्जेन्टिनालाई नकआउट चरणमा स्थान पक्का गर्न पोल्यान्डविरुद्ध जित पर्याप्त हुनेछ । अर्जेन्टिनाले आफ्नो खेल जितेर साउदी अरेबियाले जित्न नसके टोली समूह विजेताको रुपमा अघि बढ्नेछ । यदि साउदी र अर्जेन्टिना दुवैले जितेको अवस्थामा समूह विजेताको छिनोफानो गोलअन्तरले हुनेछ । गोलअन्तर समान भए गोल गरेको संख्याले शीर्षस्थान निर्धारण हुनेछ । त्यो पनि बराबरी हुँदा हेड टु हेडमा साउदी शीर्षस्थानमा रहनेछ ।
खेल बराबरीमा सकिएको अवस्थामा भने अर्जेन्टिनाको भविष्य अर्को खेलको नतिजामा भर पर्नेछ । अर्जेन्टिना बराबरी खेलेर साउदी र मेक्सिको बराबरी भए मात्र टोली अघि बढ्नेछ । तर अर्जेन्टिना बराबरी खेलेर साउदी जितेको अवस्थामा भने अर्जेन्टिना बाहिरिनेछ ।
अर्जेन्टिना बराबरीमा रोकिएर मेक्सिकोले जित हासिल गरे समूहको स्थान गोलअन्तरले निर्धारण हुनेछ । यस्तो अवस्थामा मेक्सिकोले ४ गोलको अन्तरले जिते अर्जेन्टिना बाहिर जानेछ । अर्जेन्टिना हारेको अवस्थामा भने प्रतियोगिताबाट बाहिरिनेछ ।
पोल्यान्डलाई के चाहिन्छ ?
पोल्यान्डले बराबरी गरेमात्र पनि नकआउट चरणमा पुग्नेछ । समूहको शीर्षस्थान पक्का गर्न भने पोल्यान्डले जित हासिल गर्नुपर्नेछ । बराबरीले पनि समूह विजेता बन्न सक्छ तर त्यसका लागि अर्को खेलको नतिजाले असर गर्छ । पोल्यान्ड हारका बाबजुद पनि अघि बढ्न सक्छ । यसका लागि मेक्सिकोले जित हासिल गरेर गोलको अन्तर कम हुनुपर्नेछ ।
साउदीलाई के चाहिन्छ ?
नकआउट चरणमा स्थान पक्का गर्न टोलीलाई जित आवश्यक छ । समूहको अर्को खेलको नतिजाले समूह विजेता बन्ने सम्भावना पनि छ । साउदी बराबरीमा रोकिएको अवस्थामा भने अर्जेन्टिना पराजित भएमात्र टोलीले समूह चरण पार गर्नेछ । दुवै खेल बराबर वा साउदीले हार बेहोरे प्रतियोगिताबाट बाहिरिनेछ ।
मेक्सिकोलाई के चाहिन्छ ?
मेक्सिकोले प्रतियोगितको नकआउट चरणमा स्थान पक्का गर्न कम्तिमा ४ गोल अन्तरको जित आवश्यक छ । तर मेक्सिको र पोल्यान्डले जित हासिल गरे कम अन्तरको जितले पनि टोली अघि बढ्नेछ । बराबरी वा हारले भने मेक्सिको बाहिरिनेछ ।