ब्राजिल नकआउटमा पुग्दा अर्जेन्टिनी प्रशिक्षक मख्ख !

कतार  – अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले दक्षिण अमेरिकी टोली ब्राजिल फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेकोमा खुसी व्यक्त गरेका छन् ।

पोल्यान्डविरुद्ध समूह चरणको खेलअघि पत्रकार सम्मेलनमा बोल्दै स्कालोनीले ब्राजिलबारे आफ्नो अभिव्यक्ति दिएका हुन् । ‘ब्राजिलको लागि म खुसी छु । म दक्षिण अमेरिकी फुटबलको समर्थक हुँ । यदि अर्जेन्टिना भएन भने म दक्षिण अमेरिकी टोलीले विश्वकप जितेको हेर्न चाहन्छु,’ उनले भने, ‘ब्राजिलमा मेरा साथी छन् । उनीहरुले लगातार दुई खेल जितेका छन् र म बधाई दिन चाहन्छु ।’

पोल्यान्डविरुद्ध टोलीमा खेलाडी परिवर्तन हुन सक्ने भएपनि सुरुवातमा रणनीति भने परिवर्तन नहुने स्कालोनीले बताए । ‘मेक्सिकोविरुद्ध खेलमा हामीले ५ डिफेन्डरका साथ खेल अन्त्य गरेका थियौं । बुधबार खेलमा हामी पुरानो रणनीति अनुसार नै सुरु गर्नेछौं । त्यसपछि भने खेलको अवस्था अनुसार परिवर्तन हुनेछ,’ स्कालोनीले बताए ।

‘पोल्यान्डमा बलिया र अग्ला कदका खेलाडी मात्र छैनन्, उनीहरु प्राविधिक रुपमा खेल्ने र तीव्र छन् । उनीहरुलाई आफ्नो रणनीतिमा खेल्न राम्रोसँग आउँछ । विपक्षी अनुसार खेल परिवर्तन गर्न सक्छन् ।’

स्कालोनीले पछिल्लो दुवै खेलमा बेन्चबाट मैदान प्रवेश गर्दै राम्रो प्रदर्शन गरेका मिडफिल्डर एन्जो फर्नान्डेजले पनि खेल्न सक्ने बताए । ‘अन्य खेलाडी जस्तै एन्जोले पनि खेल्ने सम्भावना छ । दुवै खेलमा उनले बेन्चबाट आएर राम्रो खेलेका छन् । उनी विकल्प हुन् तर खेलाडीले सबै अवस्थामा तयार हुनुपर्छ,’ उनले टुंग्याए ।

समूह चरणको अन्तिम खेलमा पोल्यान्डविरुद्ध जित हासिल गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गर्न चाहन्छ । आजको खेल बराबरी भएपनि अघि बढ्ने सम्भावना रहेको अर्जेन्टिना हारले भने बाहिरिनेछ । अर्को खेलमा आज नै मेक्सिको र साउदी अरेबिया खेल्नेछन् । दुवै खेल मध्यरात १२:४५ बजे हुनेछ । समूहको अंक तालिकामा पोल्यान्डको ४ अंक छ । अर्जेन्टिना र साउदी अरेबियाको ३-३ तथा मेक्सिको १ अंकमा छ ।

प्रकाशित : , ०, ०१६:३५

अन्तत: सनसनीपूर्ण प्रति वर्ष २०० मिलियनको सम्झौता गर्दै साउदी क्लबसँग सामेल हुने भए रोनाल्डो !