एजेन्सी – कतार विश्वकपको मुख दाबेदार मध्ये एक मानिएको अर्जेन्टिनाले आज निर्णायक खेल खेल्दैछ। समूहचरणको अन्तिम तथा निर्णायक खेलमा अर्जेन्टिनाले आज राति पोल्याण्डको सामना गर्न लागेको हो।
पोल्याण्ड विरुद्धको खेलमा अर्जेन्टिना जित निकाल्नै पर्ने दबावमा रहनेछ। अर्जेन्टिना अहिले समूह ‘सी’को दोस्रो स्थानमा रहेको छ। विश्वकपको पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएका कारण अर्जेन्टिनालाई यति बेला समस्या परिरहेको छ।
तीन अंक सहित अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ। उ विरुद्ध नै जित निकालेको साउदी तेस्रो स्थानमा रहेको छ। अर्जेन्टिना साउदी भन्दा गोलअन्तरले मात्रै अगाडी छ। आज अर्जेन्टिना सँग-सँगै साउदीले पनि खेल खेल्दैछ। साउदीले आज राति मेक्सिकोको सामना गर्ने छ।
साउदी र मेक्सिको बीचको खेलको नतिजाले पनि अर्जेन्टिनालाई असर गर्न सक्छ। पोल्याण्डलाई पराजित गर्न नसकेको खण्डमा साउदी र मेक्सिको बीचको खेलको नतिजाको अधारमा अर्जेन्टिनाको विश्वकप यात्रा तय हुन सक्छ।
यस्तो भए अर्जेन्टिना विश्वकपबाट आउट
अहिले शिर्षस्थानमा रहेको पोल्याण्डसँग ४ अंक, दोस्रो र तेस्रो स्थानमा रहेका अर्जेन्टिना र साउदीसँग समान ३ अंक छ। त्यस्तै चौंथो स्थानमा रहेको मेक्सिकोसँग भने मात्रै १ अंक छ। आज राति समूहका चारै टोली एक्सनमा उत्रनेछन्।
केहिगरि साउदीले मेक्सिकोलाई पराजित गर्यो र अर्जेन्टिना पोल्याण्डसँग हार्यो भने अर्जेन्टिना विश्वकपबाट आउट हुनेछ। तर मेक्सिकोले साउदीलाई हराएको खण्डमा भने अर्जेन्टिनालाई फाइदा हुनेछ।