रोनाल्डोले आफ्नो सोचेको गोल ब्रुनोको रहेछ, प्रशिक्षक भन्छन् – जसले गोल गरेपनि मतलब छैन

कतार – ब्रुनो फर्नान्डेसको दुई गोलमा पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै फिफा विश्वकप कतार २०२२ मा दोस्रो जित दर्ता गर्यो । समूह एच को शीर्षस्थानमा उक्लेको पोर्चुगलले नकआउट चरणमा स्थान पनि पक्का गर्यो ।

उरुग्वेविरुद्ध खेलमा पोर्चुगलका लागि सुरुवाती अग्रता ब्रुनो फर्नान्डेसले दिलाएका थिए । तर उनको गोलको चर्चामा क्रिस्टियानो रोनाल्डोको नाम जोडियो । कारण सुरुवातमा गोलका लागि रोनाल्डोले खुसियाली मनाएका थिए । तर फिफाले रिभ्यु गर्दै गोलमा रोनाल्डोले नछोएको र ब्रुनोको गोल भएको निर्णय दियो ।

खेलपछि बोल्दै प्रशिक्षक फर्नान्डो सान्तोसले आफूलाई जसले गोल गरेपनि मतलब नहुने बताए । ‘हाम्रो टिमले राम्रो प्रदर्शन गर्यो । लगातार जित निकाल्दै अघि बढेका छौं । अबको ध्यान अर्को खेलमा हुनेछ । गोल कसले गर्यो भन्नेमा मलाई मतलब छैन,’ सान्तोसले हाँस्दै भने ।

प्रशिक्षक सान्तोसले ब्रुनो र रोनाल्डो मात्र नभएर खेलमा अन्य खेलाडीको पनि उत्तिकै योगदान रहेको बताए । ‘ब्रुनो राम्रा खेलाडी हुन् । उनले गोल गरे र हामी जित्यौं । तर खेलमा सबैको योगदान हुन्छ । गोलरक्षक कोस्टाले दुई उत्कृष्ट बचाउ गरे, उनको पनि महत्त्व छ । सबैले एकजुट भएर खेलेको हो,’ उनले थपे ।

पोर्चुगल समूह चरणबाट पार हुने पक्का भइसकेको छ । अन्तिम खेलमा दक्षिण कोरियाका लागि कस्तो टोली छनोट हुन्छ भन्ने प्रश्नमा सान्तोसले बलियो टोली नै उतार्ने बताए । ‘हामी अर्को चरणमा पुगेका छौं तर अझैपनि शीर्षस्थान पक्का भएको छैन । हामी शीर्षस्थानमा नै रहन चाहन्छौं र त्यसै अनुसार अर्को खेलको लागि तयारी हुनेछ । एक दुई खेलाडी परिवर्तन गर्ने सम्भावना हुन्छ तर दोस्रो रोजाइ भन्ने हुँदैन,’ उनले भने ।

प्रकाशित : , ०, ००६:५२

विश्वकप: आज हुँदै चार खेल, वेल्स र इंग्ल्याण्ड आमने-सामने !