लौटारो भन्छन् – ‘मेक्सिकोविरुद्धको खेल हाम्रो लागि फाइनल बराबर’

कतार – अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणमा मेक्सिकोविरुद्ध शनिबार हुने दोस्रो खेल आफ्नो टोलीका लागि फाइनल सरह रहने बताएका छन् ।

खेलको पूर्वसन्ध्यामा बोल्दै लौटारोले मेक्सिकोविरुद्ध नतिजाले नै टोलीको भविष्य निर्धारण गर्ने बताए । ‘भोली हाम्रो लागि फाइनल सरह खेल छ । हामीले जित्नैपर्ने खेल छ । हामीले टोलीको स्तर मात्र नभएर हामी खेलाडीको लागि पनि महत्त्वपूर्ण छ । हामीले भोली आफ्नो उच्च स्तरको प्रदर्शन गर्नुको विकल्प रहने छैन,’ उनले भने ।

गत वर्ष कोपा अमेरिका जितेको अर्जेन्टिना विश्वकपको उपाधि दावेदार टोलीको रुपमा हेरिएको थियो । तर पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएपछि टोली समस्यामा परेको छ । मेक्सिकोविरुद्ध हारले टोली समूह चरणबाट नै बाहिरिने डर पनि छ । आफूले हारको नतिजाबारे नसोचेको लौटारोले बताए ।

‘हामीले हारतर्फ सोचेका पनि छैनौं । हामीलाई कुनै दबाब छैन किनकि हामी टिममा विश्वास गर्छौं । हामीले आफ्नो पछिल्लो खेलको गल्ती थाहा पाएका छौं र मेक्सिकोविरुद्ध खेलका लागि नियमित तयारीमा छौं । हामी विश्वस्त छौं अर्जेन्टिनाले पाउनुपर्ने नतिजा हामी दिलाउनेछौं,’ उनले थपे ।

अर्जेन्टिना र मेक्सिकोबीच खेल शनिबार मध्यरातमा हुनेछ । त्यसअघि समूह सी मै पोल्यान्ड र साउदी अरेबिया भिड्नेछन् । साउदीले पोल्यान्डविरुद्ध अंक जोडेर मेक्सिकोले जित हासिल गरेको अवस्थामा अर्जेन्टिना समूह चरणबाट बाहिरिनेछ ।

प्रकाशित : , ०, ०१७:५५

विश्वकपमा अष्ट्रेलियालाई पहिलो सफलता, नकआउट चरण पुग्ने सम्भावना बढ्यो !