एजेन्सी – पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागसँग वार्ता गर्ने भएका छन्। क्लब र प्रशिक्षकसँग रोनाल्डोको सम्बन्ध बिग्रिरहेका बेला सो सम्बन्धमा छलफल गर्न टेन ह्याग र रोनाल्डो बीच वार्ता हुने भएको हो।
रोनाल्डो र टेन ह्याग बीच विभिन्न विषयहरुमा कुराकानी हुने बेलायती मिडियाहरुले बताएका छन्। दुई बीचको वार्ताले नै रोनाल्डोको भविष्य तय गर्ने बताइएको छ। बेलायती मिडिया मिररले गरेको दावीलाई मान्ने हो भने रोनाल्डोले आफ्नो गल्तीलाई स्वीकार गरेको खण्डमा मात्रै रोनाल्डोलाई युनाइटेडको टोलीमा फिर्ता बोलाइनेछ।
गत साता टोटेनहमविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रुपमा रोनाल्डोले मैदान प्रवेश गर्न अस्विकार गरेका थिए। खेलको अन्तिम समयतिर युनाइटेड २-० को अग्रतामा रहँदा टेन हागले रोनाल्डोलाई मैदान प्रवेश गराउन चाहेका थिए। तर रोनाल्डोले टेन हागको आग्रह नकारे। त्यसपछि खेलको ८९ औं मिनेट चलिरहँदा रोनाल्डोले मैदान छाड्दै ड्रेसिङ रुमतर्फ लागेका थिए।
रोनाल्डोले यस सिजन युनाइटेडका लागि सुरुवाती रोजाइमा खासै अवसर पाएका छैनन्। प्रशिक्षक टेन हागसँग राम्रो सम्बन्ध रहन नसक्दा रोनाल्डोले राम्रो प्रदर्शन गर्न नसकेको आँकलन गरिन्छ। रोनाल्डोले जारी सिजनमा १२ खेल खेल्दा मात्रै २ गोल गरेका छन्।
सिजनका १२ खेल मध्ये ६ खेलमा मात्र रोनाल्डो सुरुवाती ११ मा परेका छन्। बाँकी ६ खेलमा उनी वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए। त्यसमध्ये सबै खेल प्रिमियर लिग अन्तर्गतका थिए।