एजेन्सी – इटालियन क्लब इन्टर मिलानका सेन्टर ब्याक मिलान स्क्रिनियर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)को नजरमा रहेका छन्। गत समर ट्रान्सफर विन्डोमा नै पिएसजीले उनलाई भित्र्याउन प्रयास गरेको थियो। तर पिएसजीको सो प्रयास सफल हुन सकेन।
पहिलो प्रयास असफल भएपनि पिएसजीले मिलान स्क्रिनियरलाई भित्र्याउने अर्को प्रयास गर्ने योजना बनाइरहेको छ। विभिन्न फ्रेन्च मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने पिएसजीले उनलाई आउने ट्रान्सफर विन्डोमै भित्र्याउने प्रयास गर्न सक्छ।
स्क्रिनियर मिलानमा सम्झौताको अन्तिम वर्षमा छन्। सम्झौता थप नगरेको खण्डमा मिलानले उनलाई जनवरीमै बिक्री गर्न सक्ने उच्च सम्भावना रहेको बताइन्छ। स्क्रिनियर फ्री ट्रान्सफरमा अन्यत्र जान सक्ने अवस्था भएको खण्डमा सम्झौता सकिनु भन्दा अगाडी नै उनलाई बिक्री गरेर रकम बटुल्ने तर्फ मिलान लाग्न सक्छ।
त्यस्तो भएको खण्डमा स्क्रिनियरलाई पिएसजीले मात्र भित्र्याउने प्रयास गर्ने छैन। सो दौडमा क्याटलान क्लब बार्सिलोना पनि सामेल हुन सक्नेछ। विभिन्न स्पेनिस मिडियाहरुको दावीलाई मान्ने हो भने स्क्रिनियर बार्सिलोनाको पनि नजरमा रहेका छन्।
जाभीले विन्टर ट्रान्सफर विन्डोमा आफ्नो टोलीलाई बलियो बनाउने इच्छा व्यक्त गरिसकेका छन्। बार्साको डिफेन्सलाई बलियो बनाउन स्क्रिनियर उपयुक्त खेलाडी हुन सक्छन्।