एजेन्सी – फ्रेन्च लेजेण्ड जिनेदिन जिदान फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)को प्रशिक्षक बन्ने चर्चा धेरै समय देखि चलिरहेको छ। जब जब पिएसजी कम्जोर प्रदर्शन गर्न थाल्छ, तब-तब जिदान प्रशिक्षकको रुपमा पिएसजी जाने चर्चा चल्छ।
जिदानको विषयमा त्यतिकै हल्ला भने पक्कै गरिएको होइन। पिएसजी लामो समय देखि जिदानलाई क्लबको जिम्मेवारी दिने पक्षमा रहेको छ। पिएसजीले अहिले सम्म कयौं पटक जिदानलाई क्लबमा ल्याउन प्रयास गरिसकेको छ। तर पिएसजीले जति नै प्रयास गरेपनि जिदान पिएसजी जान भने तयार भएका छैनन्।
यसैबीच फ्रेन्च मिडियाहरुमा यति बेला नयाँ चर्चा सुरु भएको छ। फ्रेन्च मिडियाहरुका अनुसार केहि सर्त पूरा भएको खण्डमा मात्रै जिदान पिएसजी जानेछन्। जिदानको मुख्य सर्त पिएसजीका वर्तमान अध्यक्ष नासेर अल-खेलाफीसँग सम्बन्धित रहेको बताइन्छ।
अल-खेलाफीसँग अध्यक्ष पदबाट हटेको खण्डमा मात्रै जिदान पिएसजी जाने फ्रेन्च मिडियाहरुको दावी छ। त्यस्तै जिदानको निर्णय फ्रेन्च राष्ट्रिय टोलीका प्रशिक्षक डिडियर डेसचम्प्सको भविष्यमा पनि निर्भर फ्रेन्च मिडियाहरु दावी गर्छन्।
फ्रेन्च राष्ट्रिय टोलीमा डिडियर डेसचम्प्सको सम्झौता विश्वकप पछि सम्मको लागि मात्रै छ। डेसचम्प्सले विश्वकप पछि फ्रेन्च राष्ट्रिय टोलीसँगै रहने निर्णय गरेको खण्डमा मात्रै जिदान पिएसजीको जिम्मेवारी सम्हाल्न तयार हुने फ्रेन्च मिडियाहरु बताउँछन्।