लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको चिरस्थायी बहसको बारेमा दिग्गज ब्राजिलियन फरवार्ड पेलेको टिप्पणी पुन: चर्चामा आएको छ।
तीन पटकको विश्वकप विजेताका अनुसार रोनाल्डो गोल गर्ने क्षमताको निरन्तरताका कारण विश्वकै उत्कृष्ट खेलाडी हुन्। तर, मेस्सी स्ट्राइकर नभएकाले मात्र समान दरमा गोल नगरेको ब्राजिलियन दिग्गज स्टारले बताए। २०२० मा पेलेलाई निम्न शब्दका साथ उद्धृत गरिएको थियो (गिभ मी स्पोर्ट मार्फत), “आज विश्वका उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो हुन्। मलाई लाग्छ कि उनी निकै उत्कृष्ट छन्, किनकि उनी निरन्तरताका साथ गोल गर्न सक्छन्, तर तपाईंले [लियोनल] मेस्सीलाई बिर्सन सक्नुहुन्न, पक्कै पनि, उनी स्ट्राइकर होइनन्।”
विश्वभरका धेरै फुटबल फ्यानहरूले अझै पनि पेलेलाई सबै समयको महान् फुटबलर मान्छन्। ब्राजिलका लेजेन्डले १४ विश्वकप खेलमा १२ गोल गरेका छन् भने आफ्नो करियरमा १९५८, १९६२ र १९७० मा कीर्तिमानी तीन पटक विश्वकप उपाधि उचालेका छन्। हाल पेले ब्राजिलका सबै समयको कीर्तिमान गोलकर्ता पनि हुन्, जसले ९२ आधिकारिक खेलमा ७७ गोल गरेका छन्। यद्यपि, पीएसजी स्टार नेयमार जुनियरले छिट्टै उनलाई उछिन्दै ब्राजिलको कीर्तिमानी गोलकर्ता बन्ने सम्भावना धेरै छ।
पेरिस सेन्ट-जर्मेन (पीएसजी) का फरवार्ड पेलेको सर्वकालीन कीर्तिमान तोड्न दुई गोल मात्र पछाडि छन् र छिट्टै उनलाई उछिन्न सक्छन्। लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आ–आफ्नो देशका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्। पोर्चुगिज राष्ट्रिय टोलीका लागि १९१ खेलमा ११७ गोल गरेका रोनाल्डो पुरुष अन्तर्राष्ट्रिय फुटबलमा पनि सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्।
अर्कोतर्फ, मेस्सीले अर्जेन्टिनाका लागि १६४ खेलमा ९० गोल गरेका छन् र पुरुष अन्तर्राष्ट्रिय फुटबलमा तेस्रो सर्वाधिक गोलकर्ता हुन्। सात पटकको ब्यालोन डी’ओरले गत समरमा अर्जेन्टिनासँग कोपा अमेरिकाको उपाधि जित्दा पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको थिए।