अन्तर्राष्ट्रिय विश्रामपछिको खेलमा बायर्नको सानदार जित, बायर्न दोस्रो स्थानमा उक्लियो !

एजेन्सी – युवा मिडफिल्डर जमल मुसिएलाले एक गोलसँगै दुई असिस्ट दिएपछि बायर्न म्युनिखले अन्तर्राष्ट्रिय विश्रामपछिको जर्मन बुन्डेसलिगामा सानदार जित दर्ता गरेको छ ।

बायर्नले घरेलु मैदानमा बायर लिभरकुसनमाथि ४–० को फराकिलो जित निकालेको हो । बायर्नको जितमा लिरोए साने, जमल मुसिएला, साडियो माने र थोमस मुलरले गोल गरे । एलिएन्ज एरिना म्युनिखमा शुक्रबार राति भएको खेलमा बायर्नले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल थपेको थियो ।

खेलको तेस्रो मिनेटमा नै सानेको गोलबाट बायर्नले अग्रता लिन सफल भयो । उनले जमल मुसिएलाको पासलाई सदुपयोग गरे । १७औं मिनेटमा मुसिएलाले थोमस मुलरको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

३९औं मिनेटमा मुसिएलाको पासमा साडियो मानेले गोल गरेपछि बायर्न पहिलो हाफमा ३–० को आरामदायी स्थितिमा अघि बढ्यो । ५६औं मिनेटमा मानेले गोल गरेपनि गोलको मुभमा फउल देखिएपछि भिएआरबाट गोलले मान्यता पाएन ।

त्यसपछि ८४औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नको सानदार जित पक्का गरे । उनले गोलरक्षक लुकासले गरेको गल्तीको फाइदा उठाउँदै गोल गर्न सफल भएका थिए ।

यस जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको शीर्षस्थानको युनियन बर्लिनको १७ अंक छ ।

समान १५ अंक नै रहेपनि एक खेल कम खेलेको बोरुसिया डर्टमुन्ड गोल अन्तरमा पछि रहँदै तेस्रोमा छ । पराजित लिभरकुसन ५ अंक जोडेर १६औं स्थानमा छ ।

प्रकाशित : , ०, ००६:५६

कसले जित्ला त विश्वकप २०२२ गोल्डेन बल? हेरौं ५ प्रारम्भिक दाबेदार !