एजेन्सी – कप्तान लियोनेल मेस्सीले दुई तथा लोउटारो मार्टिनेजले एक गोल गरेपछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।
अर्जेन्टिनाले होन्डुरसमाथि ३–० को सहज जित निकालेको छ । हार्ड रक स्टेडियम मियामी गार्डेन्स फ्लोरिडामा शनिबार बिहान भएको खेलको १६औं मिनेटमा मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिन सफल भयो । मेस्सी हुँदै एलेसान्द्रो गोमेजले मिलाइदिएको पासलाई मार्टिनेजले जाली चुमाएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । राहुल सान्तोषले जियोभानी लो सेल्सोलाई पेनाल्टी बक्समा फउल गरेपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी प्रदान गर्दा मेस्सी चुकेनन् ।
६९औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । इन्जो फर्नान्डेसको पासमा मेस्सीले झन्डै २५ यार्डबाट गरेको प्रहारले जाली चुमेको थियो ।
अर्जेन्टिनाले आगामी नोभेम्वर डिसेम्वरमा कतारमा हुने फिफा विश्वकप कतार २०२२ को अन्तिम तयारीस्वरुप मैत्रीपूर्ण खेल खेल खेलेको हो । अब अर्जेन्टिनाले अन्तिम मैत्रीपूर्ण खेलमा जमैकासँग बुधबार बिहान खेल्नेछ । त्यसपछि अर्जेन्टिना विश्वकपमा होमिनेछ ।