एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा क्याटलान क्लब बार्सिलोनालाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। बायर्नले घरेलु मैदानमा बार्सिलोनालाई २–० ले पराजित गरेको हो। बायर्नको जितमा दोस्रो हाफमा लुकास हर्नान्डेज र लिरोए सानले गरेको गोल नै निर्णायक बन्यो।
एलिएन्ज एरिना म्युनिखमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको ५०औं मिनेटमा लुकास हर्नान्डेजले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए। उनले योसुवा किम्मिखको पासलाई सदुपयोग गरेका थिए।
त्यसको चार मिनेट पछि जमल मुसिएलाको पासमा लिरोए सानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे। दोस्रो हाफको शुरुमै दुई गोलले पछि परेको बार्सिलोनाले घरेलु टोलीमाथि बल पोसेसन राख्दै दवाव सिर्जना गरेपनि गोल निस्कन नसक्दा पराजित हुन पुग्यो।
यस जितसँगै बायर्नले बार्सिलोनालाई लगातार पाँचौ भेटमा पनि हराउन सफल भयो। बायर्न सन् २०१५ को च्याम्पियन्स लिगमा ३–० ले पराजित भएयता बार्सिलोनासँग अपराजित छ। बार्सिलोनाले बायर्नकै पुर्व फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई मैदानमा उतारेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन।
यस जितसँगै बायर्न समूह ‘सी’ मा दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ। पराजित बायर्न ३ अंक जोडेर दोस्रो स्थानमा छ। अर्कोतर्फ, अर्को स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको दोस्रो खेलमा हार बेहोरेको छ। एट्लेटिको जर्मन क्लब बायर लिभरकुसनसँग उसकै मैदानमा २–० ले पराजित भएको हो।
बेएरिना लिभरकुसनमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा रोबर्ट एन्डरिच र मोउसा डियावीले गोल गरे। दुवै गोलको खेलको अन्त्यतिर चार मिनेटको अन्तरमा भएको थियो।
रोमाञ्चक खेलको ८४औं मिनेटमा रोबर्ट एन्डरिचले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए। उनले जेरेमी फ्रिमपोङको पासमा गोल गर्न सफल भएका थिए। ८७औं मिनेटमा जेरेमी फ्रिमपोङकै पासमा मोउसा डियावीले गोल गर्दै लिभरकुसनको जित पक्का गरे। यसरी एकै दिन दुई स्पेनिस क्लब दुई जर्मन क्लब सामु घुँडा टेकेका छन्।