एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुललाई च्याम्पियन्स लिगको दोस्रो खेल अगाडी अर्को झड्का लागेको छ। धेरै भन्दा धेरै खेलाडी घाइते भएका कारण समस्यामा परेको लिभरपुललाई थप अर्को झड्का लागेको हो।
विभिन्न खेल मिडियाहरुका अनुसार घाइते हुनेहरुको लिस्टमा अर्का एक खेलाडी पनि थपिएका छन्। घाइते भएका खेलाडीहरुको सूचीमा अब एन्डी रोबर्टसन पनि रहेका छन्। उनको घुँडाको चोट लागेको बताइएको छ।
रोबर्टसनको चोट कति गम्भीर हो भन्ने बारे भने कुनै पनि जानकारी बाहिर आएको छैन। लिभरपुल इकोले आफ्नो समाचारमा उल्लेख गरेअनुसार रोबर्टसन लिभरपुलको प्रशिक्षण केन्द्रमा आइतबार घुँडाको ब्रेस लगाएर आइपुगेका थिए। उनको घुँडामा चोट लागेको खबर बाहिर आएपनि क्लबले भने उनको चोट बारे स्पष्ट पार्न अझ बाँकी नै छ।
च्याम्पियन्स लिगको दोस्रो खेलमा मंगलबार राति लिभरपुलले डच क्लब आयक्सको सामना गर्दैछ। सो खेल अगाडी महत्वपूर्ण खेलाडी घाइते हुनु लिभरपुलका लागि पक्कै पनि राम्रो होइन।
यस अगाडी नै घाइते भएका खेलाडीको सूची लामो भइसकेको छ। हालको अवस्थामा झन्डै आधा दर्जन खेलाडी घाइते अवस्थामा छन्। खेलाडीहरु घाइते भएका कारण लिभरपुलले नयाँ सिजनमा त्यति राम्रो प्रदर्शन गर्न सकिरहेको छैन।
प्रिमियर लिगमा लिभरपुलले ६ खेल खेल्दा मात्रै २ खेलमा जित निकालेको छ। त्यस्तै च्याम्पियन्स लिगको पहिलो खेलमा लिभरपुल पराजित भएको थियो। नापोलीसँग लिभरपुल ४-१ को गोल अन्तरले पराजित भएको थियो।