एजेन्सी – प्रिमियर लिग च्याम्पियन्स म्यानचेस्टर सिटीका युवा स्टार एर्लिङ हालाण्डले क्लबका प्रशिक्षक पेप गार्डियोला फुटबलका लागि पागल रहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा हालाण्डले गार्डियोला फुटबलका लागि पागल नै रहेको बताएका हुन्।
टेलिमुन्डो डिपोर्टेसका लागि अन्तर्वार्ता दिनेक्रममा हालाण्डले आफू जस्तै गार्डियोला पनि फुटबल कट्टरपन्थी रहेको बताए। आफू र गार्डियोला दुवै फुटबललाई धेरै भन्दा धेरै माया गर्ने हालाण्डको भनाई छ।
“उनी म जस्तै फुटबल कट्टरपन्थी हुन्। हामी दुवैलाई फुटबल मनपर्छ। पहिला उनी खेलाडी थिए र अहिले फुटबल प्रशिक्षक छन्।”,टेलिमुन्डो डिपोर्टेससँगको अन्तर्वार्ताका क्रममा हालाण्डले भने।
गार्डियोला फुटबललाई धेरै मन पराउने र त्यहि कारणले गर्दा सबै पक्षमा सुधार ल्याउने बारे सोच्ने गरेको हालाण्डले सुनाए। गार्डियोला हरेक कुराका बारेमा सोच्ने व्यक्त रहेको हालाण्डको भनाई छ।
उनले भने,”फुटबलका लागि उनी पागल नै छन्। उनी सबै कुराको बारेमा सोच्छन् र कसरी खेल सुधार्ने भन्ने बारे पनि उनले सोचिरहेकै हुन्छन्। यो नै हो उनीबारे मलाई सबै भन्दा बढी मन पर्ने कुरा।”
हालाण्ड यहि सिजन म्यानचेस्टर सिटी आइपुगेका हुन्। सिटी आइपुगेसँगै हालाण्डले आफ्नो स्तर देखाउन थालिसकेका छन्। हालाण्ड अहिले प्रिमियर लिगको शिर्ष गोलकर्ता रहेका छन्। उनले प्रिमियर लिगका ६ खेलमा १० गोल गरेका छन्। समग्रमा उनले अहिले सम्म सिटीका लागि कुल ८ खेल खेल्दा १२ गोल गरिसकेका छन्।