च्याम्पियन्स लिगमा सबै भन्दा बढी ह्याट्रिक गर्ने को ? कसको कति ह्याट्रिक ?

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले बुधबार राति बार्सिलोनाका लागि च्याम्पियन्स लिग डेब्यु गरे। पहिलो खेलमा नै उनले आफ्नो रवाफ देखाउन सफल भए। उनले च्याम्पियन्स लिगमा बार्सिलोनाको तर्फबाट गोलको खाता मात्र खोलेनन्, ह्याट्रिक नै गरे। भिक्टोरिया प्लेजन विरुद्ध बार्सिलोनाले ५-१ को जित निकाल्दा लेवान्डोस्कीले ह्याट्रिक गरेका हुन्।

भिक्टोरिया प्लेजन विरुद्ध लेवान्डोस्कीले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गरेका थिए। खेलको ३४ औं मिनेटमा र्जी रोबर्टोको पासमा लेवान्डोस्कीले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट सुन्दर फिनिस गरेका थिए।

त्यस्तै पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे। उनी त्यतिमा मात्र रोकिएनन्, दोस्रो हाफको ६७ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे। भिक्टोरिया प्लेजन विरुद्धको खेलमा ह्याट्रिक गरेसँगै लेवान्डोस्कीले एक नयाँ रेकर्ड पनि बनाएका छन्।

बार्सिलोनाको तर्फबाट पनि ह्याट्रिकगरेसँगै लेवान्डोस्की तीन भिन्न क्लबबाट च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका हुन्। लेवान्डोस्कीले च्याम्पियन्स लिगमा सबै भन्दा पहिला बोरुसिया डर्टमन्डमा खेल्दा ह्याट्रिक गरेका थिए। पछि बायर्नबाट खेलाडी पनि उनले च्याम्पियन्स लिगमा ह्याट्रिक गरेका थिए। बायर्नमा हुँदा उनले च्याम्पियन्स लिगमा कुल ४ ह्याट्रिक गरेका थिए।

लेवान्डोस्की च्याम्पियन्स लिगको इतिहाँसमा सबै भन्दा बढी ह्याट्रिक गर्ने खेलाडी मध्येमा पर्छन्। च्याम्पियन्स लिगमा लेवान्डोस्की भन्दा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले मात्रै बढी ह्याट्रिक गरेका छन्। मेस्सी र रोनाल्डो दुवैले समान ८ ह्याट्रिक गरेका छन्। च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले रियल म्याड्रिडबाट खेल्दा सात ह्याट्रिक र युभेन्टसबाट खेल्दा एक ह्याट्रिक गरेका थिए। त्यस्तै मेस्सीले भने च्याम्पियन्स लिग करियरमा गरेको आठ ह्याट्रिक बढे आठै ह्याट्रिक क्याटलान क्लब बार्सिलोनाबाट खेल्दा गरेका थिए।

च्याम्पियन्स लिग ह्याट्रिकको मामलामा रियल म्याड्रिडका फ्रेन्च स्टार करिम बेन्जेमा चौंथो स्थानमा रहेका छन्। उनले अहिले सम्म ४ ह्याट्रिक गरेका छन्। बायर्न म्युनिखबाट खेल्दा च्याम्पियन्स लिगमा तीन ह्याट्रिक गरेका मारियो गोमेज पाँचौ स्थानमा रहेका छन्।

प्रकाशित : , ०, ०१९:०२

एम्बाप्पेले भने – ‘च्याम्पियन्स लिगको ट्रफीलाई टुलुटुलु हेर्न मात्र पाइयो, फाइनल हार्दा कम्ति रुन मन लागेन’`