एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभीले क्लबका फ्रेन्च विंगर उस्मान डेम्बेलेलाई ब्राजिलियन स्टार नेयमारसँग तुलना गरेका छन्। च्याम्पियन्स लिगको पहिलो खेलमा जित निकालेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा जबाहीले डेम्बेलेलाई नेयमारसँग तुलना गरेका हुन्।
बार्सिलोनाले समूह चरणको पहिलो खेलमा भिक्टोरिया प्लेजनलाई ५-१ को फराकिलो अन्तरले हरायो । घरेलु मैदान क्याम्प नोउमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा फ्रान्क केसी र फेरान टोरेसले १-१ गोल गरे । प्लेजनका जान सिकोराले एक गोल फर्काए । बार्सिलोनाका लागि ओस्मान डेम्बेलेले सानदार प्रदर्शन गरे।
सो खेलमा डेम्बेलेले दुई असिस्ट दिएका थिए। डेम्बेलेको प्रदर्शन बारे कुराकानी गर्दै जाभीले डेम्बेलेको ड्रिब्लिङ क्षमतालाई नेयमारसँग तुलना गरे। उत्कृष्ट नेयमारकै स्तरमा अहिले डेम्बेले रहेको जाभीको भनाई छ।
“म उनीमाथि फूल फाल्न चाहन्न तर उनीसँगको क्षमता उत्कृष्ट नेयमारको स्तरमा छ। शुट गर्न र गोल गर्न उनले थप साहस गर्न जरुरत छ। उनले आफूसँग भएका विशेषताहरूको फाइदा उठाउनुपर्छ।”,जाभीले भने। जाभीले डेम्बेले अहिले बार्सिलोनामा धेरै खुशी रहेको पनि बताए। डेम्बेले खुशी मात्र नभई बार्सिलोनामा सन्तुष्ट पनि रहेको जाभीको भनाई छ।
उनले भने,”डेम्बेले अहिले खुशी छन्, रमाइलो गर्दैछन्। यो मेरो लागि, समूहको लागि महत्त्वपूर्ण छ। उनी पास गरिरहेका छन्, गोलको राम्रा अवसरहरु निकालिरहेका छन्, गोल गरिरहेका छन्।”