एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको छ । बायर्नले घरेलु टोली इन्टर मिलानलाई २–० को पराजित गरेको हो । बायर्नको जितमा लिरोए सानेले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।
मिलानोमा बुधबार राति भएको खेलको २५औं मिनेटमा लिरोए सानेको गोलबाट बायर्नले १–० को अग्रता लिन सफलल भयो । उनले योसुवा किम्मिखको पासमा गोल गर्न सफल भएका थिए । ६६औं मिनेटमा डानिलो डि एम्ब्रुसोले आत्मघाती गोल गरेपछि बायर्न खेलमा २–० ले अघि बढ्यो । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न विजयी हुन सफल भयो ।
यही समुह ‘सी’ को अर्काे खेलमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा क्याटलान क्लब बार्सिलोनाले भिक्टोरिया प्लेजेन ५–१ ले पराजित गरेको छ । फ्रान्क केसी र फेरान टोरेसले समान एक गोल गरे । भिक्टोरिया प्लेजेनका जान सेकोराले एक गोल फर्काए । यस नतिजासँगै समूह ‘सी’ मा बार्सिलोना ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै रहेपनि बायर्न दोस्रो स्थानमा छ । अंक विहीन इन्टर र भिक्टोरिया प्लेजेन तेस्रो र पुछारमा छ ।