एजेन्सी – च्याम्पियन्स लिगको पहिलो खेलमै प्रिमियर लिग क्लब चेल्सी पराजित भयो। च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो खेलमै क्रोएसियन क्लब डिनामो जाग्रिवसँग चेल्सी पराजित भएको थियो। कम्जोर आँकिएको टोलीसँग चेल्सी पराजित हुँदा धेरै चकित परेका थिए।
च्याम्पियन्स लिगको पहिलो खेलमा पराजित भएपनि कमैले प्रशिक्षक थोमस टुचेल बर्खास्त हुन्छन् भन्ने सोचेका थिए। तर सो खेल हारेको एक दिन पनि नबित्दै टुचेल बर्खास्त भएको खबर आयो। चेल्सीको प्रदर्शन च्याम्पियन्स लिगमा मात्र नभई प्रिमियर लिगमा पनि कम्जोर थियो। तर यति छिटै उनी बर्खास्त हुन्छन् भन्ने सायदै कसैले सोचेका थिए।
तर चेल्सीका नयाँ मालिकले अवस्था हातबाट फुत्किनु अगाडी नै उनलाई बर्खास्त गरे। टुचेल क्लबबाट आउट भइसकेपछि अब चेल्सीको अगाडी नयाँ र अब्बल प्रशिक्षक ल्याउने चुनौती छ। टुचेललाई बर्खास्त गरेपनि चेल्सी नयाँ प्रशिक्षकको खोजिमा जुटिसकेको छ।
चेल्सीको प्रशिक्षकको रुपमा विभिन्न नामहरु अगाडी आएका छन्। बेलायती मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने चेल्सीको नजर चार प्रशिक्षकहरु माथि रहेको छ। चेल्सीको नजर रहेका प्रशिक्षकहरु मध्ये एक जिनेदिन जिदान पनि छन्। रियल म्याड्रिड छाडेपछि कुनै क्लबमा आवद्ध नभएका जिदानलाई चेल्सीले भित्र्याउन चाहेको छ। तर जिदानले चेल्सीको जिम्मेवारी लिने कमै सम्भावना छ। अहिले उनी कुनै पनि क्लबमा आवद्ध हुने पक्षमा देखिँदैनन्।
त्यस्तै चेल्सीले जोन टेरी माथि पनि नजर लगाइरहेको छ। चेल्सीका लिजेण्ड, जोन टेरी वेस्ट लन्डन आउटफिटका लागि खेल्ने उत्कृष्ट खेलाडीहरू मध्ये एक हुन्। टेरीले प्रशिक्षकको रुपमा काम नगरेपछि सहायक प्रशिक्षकको रुपमा एस्टन भिल्लामा अकं गरिसकेका छन्। अन्य प्रशिक्षक नभेटिएको खण्डमा चेल्सीले टेरीलाई क्लबको जिम्मेवारी दिन सक्छ। तर त्यसको लागि उपयुक्त प्रशिक्षक फेला नपर्नुपर्ने हुन्छ।
यस्तै पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट बाहिरिएपछि खालि रहेका माउरिसियो पोचेटिनोको नाम पनि चेल्सीसँग जोडिएको छ। प्रिमियर लिग क्लब टोटेनह्यामलाई च्याम्पियन्स लिगको फाइनल सम्म पुर्याएका उनी चेल्सीका लागि राम्रो प्रशिक्षक हुन सक्छन्। यति बेला प्रिमियर लिग क्लब ब्राइटनका प्रशिक्षक ग्राहम पोटर माथि पनि चेल्सीको नजर छ। चेल्सी सबै भन्दा बढी कसैलाई भित्र्याउन इच्छुक छ भने ती ग्राहम पोटर हुन्।