एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे स्पेनिस महारथी रियल म्याड्रिडलाई आफ्नो सपनाको घर सम्झिन्छन्। एम्बाप्पे अहिले सम्म कयौं पटक रियलबाट खेल्ने आफ्नो सपना रहेको बताइसके। गत सिजनको अन्त्यसँगै एम्बाप्पे रियल जाने धेरैको अनुमान थियो। पिएसजीसँगको सम्झौता नवीकरण गर्न नमान्दा धेरैले उनी रियलनै जान्छन् होला भने लख काटेका थिए।
तर सन् २०२१-२२ को सिजन सकिनै लाग्दा एम्बाप्पेले कसैले नसोचेको कदम चाले। उनले पिएसजीसँगको सम्झौता तीन वर्षका लागि थप गरे। एम्बाप्पेको सो कदम धेरैका लागि सरप्राइज थियो। रियल जाने निर्णय गरिसकेर पनि उनले अन्तिम समयमा निर्णय बदलेका थिए।
हालसालै एम्बाप्पेले एक अन्तर्वार्ताका क्रममा रियलको सट्टा पिएसजीमै रहने निर्णय गर्नुपछाडीको कारण बारे एम्बाप्पेले चर्चा गरे। एम्बाप्पेका अनुसार फ्रान्सका राष्ट्रपतिको आग्रहमा उनले पिएसजीमै रहने निर्णय गरेका थिए।
देशको राष्ट्रपति जस्तो व्यक्तिले आफ्नो भविष्यमा चासो राखेर पिएसजीमै रहन आग्रह गरेपछि आफू पिएसजीमै रहने निर्णय गर्न बाध्य भएको एम्बाप्पेले बताए। राष्ट्रपतिको आग्रहलाई काट्न आफूले नसकेको एम्बाप्पेको भनाई छ।
“मैले कहिल्यै सोचेको थिइनँ कि म राष्ट्रपतिसँग मेरो भविष्य र मेरो करियरको बारेमा छलफल गर्नेछु। वास्तवमै त्यो अचम्म लाग्दो क्षण थियो। उनले मलाई देश नछाड्न आग्रह गरेका थिए। राष्ट्रपतिले भनिसकेपछि मैले कसरी नकार्न सक्नु।”,एम्बाप्पेले भने।