एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे स्पेनिस महारथी रियल म्याड्रिडलाई आफ्नो सपनाको घर सम्झिन्छन्। एम्बाप्पे अहिले सम्म कयौं पटक रियलबाट खेल्ने आफ्नो सपना रहेको बताइसके। गत सिजनको अन्त्यसँगै एम्बाप्पे रियल जाने धेरैको अनुमान थियो। पिएसजीसँगको सम्झौता नवीकरण गर्न नमान्दा धेरैले उनी रियलनै जान्छन् होला भने लख काटेका थिए।
तर सन् २०२१-२२ को सिजन सकिनै लाग्दा एम्बाप्पेले कसैले नसोचेको कदम चाले। उनले पिएसजीसँगको सम्झौता तीन वर्षका लागि थप गरे। एम्बाप्पेको सो कदम धेरैका लागि सरप्राइज थियो। रियल जाने निर्णय गरिसकेर पनि उनले अन्तिम समयमा निर्णय बदलेका थिए।
सो निर्णयसँगै पिएसजी समर्थक त खुशी हुने नै भए। तर रियलका समर्थक भने एम्बाप्पेसँग रुष्ट भए। फलस्वरूप रियल समर्थकहरु एम्बाप्पेलाई विभिन्न अवसरहरुमा प्रहार गर्ने गर्छन्। रियलका धेरै समर्थकहरु एम्बाप्पेले धोका दिएको बताउने गर्छन्। रियल समर्थकहरु एम्बाप्पेको सामाजिक संजाल पेजमा पुगेर पनि उनको मजाक उडाउने गरेका छन्।
स्पेनिस मिडियाहरुको दावीलाई मान्ने हो भने रियल समर्थक मात्र नभई रियल म्याड्रिडका केहि खेलाडीहरु पनि एम्बाप्पेसँग रुष्ट छन्। क्लबका उच्च अधिकारीहरु समेत एम्बाप्पेसँग रिसाएको बताइन्छ। तत्कालका लागि पिएसजीमा रहेपनि एम्बाप्पेले रियलबाट खेल्ने सपना त्यागेका छैनन्।
हालसालै एक अन्तर्वार्ताका क्रममा एम्बाप्पेले फुटबलमा जे पनि हुन सक्ने बताए। रियलबाट कहिल्यै नखेलेपनि रियल आफ्नो लागि घर जस्तै रहेको एम्बाप्पेले बताए। उनले भने,”के हुन्छ कसलाई के थाहा ? फुटबलमा जे पनि हुन सक्छ। मैले रियलबाट कहिल्यै खेलेको छैन। तर मलाई रियल आफ्नो घर जस्तो लाग्छ।”