चेल्सीको कन्तबिजोक, टुचेल भन्छन् – `सधैं यस्तै भइरहेछ’

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग २०२२-२३ अन्तर्गत समूह चरणको पहिलो खेलमै प्रिमियर लिग क्लब चेल्सी पराजित भयो। खेलको सुरुवातमै बेहोरेको गोल चेल्सीका लागि घातक बन्न पुग्यो। बलमा क्रोएसियाको डिनामो जाग्रेब क्लब भन्दा बढी नियन्त्रण राखेपछि चेल्सीले गोलको खाता भने खोल्न सकेन। फलस्वरूप चेल्सीले हार आत्मसाथ गर्यो।

जाग्रेब विरुद्धको खेलमा पराजित भएसँगै चेल्सी भित्रको समस्या छताछुल्ल भएको छ। यसले चेल्सी यस सिजन उच्च स्तरमा प्रतिष्पर्धा गर्न नसक्ने संकेत गरेको छ। चेल्सी भित्र गम्भीर समस्या प्रशिक्षक थोमस टुचेल आफैं पनि स्वीकार गर्छन्।

खेल पश्चात पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा टुचेलले टोलीमा धेरै कुराहरुको कमि देखिएको बताए। चेल्सीको हार पछाडी आफ्नो पनि गल्ती रहेको टुचेलको भनाई छ। चेल्सी जुन स्तरमा हुनुपर्ने हो त्यो स्तरमा हुन नसकेको टुचेलले बताए।

“हामीसँग सधैं जस्तै कथा छ। हामीले राम्रो सुरुवात गर्यौं। हामीले पाएका आधा अवसरहरू समेत पूरा गर्न सकेनौं। खेलको १५-२० मिनेटमै काउन्टर ट्याक भेट्यौं। त्यसपछि हामी झनै संघर्ष गर्न थाल्यौं। के-के भयो के भएन विश्लेषण गर्न गार्हो छ। म यसको एक हिस्सा हुँ। हामी स्पष्ट रूपमा जहाँ हुन पर्ने हो त्यहाँ नै हुन सकेनौं। हामीले यसको समाधान खोज्न आवश्यक छ। यो हामी सबैको जिम्मेवारी हो।”,टुचेलले भने।

च्याम्पियन्स लिगमा मात्र होइन प्रिमियर लिगमा पनि चेल्सीको प्रदर्शन सन्तोषजनक छैन। चेल्सीले सिजनका ६ खेल खेल्दा प्रिमियर लिगमा २ हार बेहोरिसकेको छ भने एक खेलमा बराबरी खेलेको छ।

प्रकाशित : , ०, ०१४:०५

क्यानले भन्यो – ‘प्रहरीलाई अनुसन्धानमा सहयोग गर्छौ’