एजेन्सी – इंग्लिस प्रिमियर लिगमा ब्राइटन होव एण्ड अल्वियोनले लेस्टर सिटीमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा पछि परेको स्थिति उल्ट्याएर ब्राइटनले लेस्टरमाथि ५–२ को सानदार जित निकालेको हो ।
ब्राइटनको जितमा एलेक्सिस म्याक अलिस्टेरले दुई तथा मोइसेस काइसेडो र लियान्द्रो ट्रोससार्डले समान एक गोल गरे । एक गोल उपहार पाएको थियो । लेस्टरका केलिची इहानाचो र पाटसन डाँकाले गोल फर्काए ।
दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा आइतबार राति गोलको वर्षा भएको खेलको पहिलो मिनेटमा नै केलिची इहानाचोको गोलबाट लेस्टरले सुरुवाती अग्रता लिएको थियो । १०औं मिनेटमा लुकी थोमसको आत्मघाती गोलबाट ब्राइटन खेलमा फर्किएको थियो ।
१५औं मिनेटमा एलेक्सिस म्याक अलिस्टेरको पासमा मोइसेस काइसेडोले गोल गर्दै ब्राइटनलाई खेलमा २–१ को अग्रता दिलाए । ३३औं मिनेटमा पाटसन डाँकाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
६४औं मिनेटमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै ब्राइटनलाई ३–२ ले अघि बढाए । त्यसपछिको दुवै गोल एलेक्सिस म्याक अलिस्टेरको नाममा रह्यो । एलेक्सिस म्याक अलिस्टेरले ७१औं र इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा गोल गर्दै ब्राइटनलाई सानदार जित दिलाए । यस जितसँगै ब्राइटन ६ खेलबाट १३ अंक जोडेर चौथो स्थानमा रहेको छ । पराजित लेस्टर १ अंक जोडेर पुछारमा छ ।