मिलानको जित, अग्रता जोगाउन नसक्दा युभेन्ट्स रोकियो

एजेन्सी – इटालियन सिरी ‘ए’ मा साविक विजेता एसी मिलानले जित निकाल्दा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स बराबरीमा रोकिएको छ ।

मिलानले घरेलु मैदानमा बोलोग्नालाई २–० ले पराजित गरेको हो । मिलानको जितमा राफयल लियो र ओलिभर जिरुडले गोल गरे । मिलानोमा शनिबार राति भएको खेलको २१औं मिनेटमा राफयल लियोको गोलबाट मिलानले सुरुवाती अग्रता लिदा ५८औं मिनेटमा लियोकै पासमा ओलिभर जिरुडले गोल गर्दै मिलानको जित सुनिश्चित गरे ।

यस जितसँगै मिलान ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाट ७ अंक नै रहेपनि लाजियो, टोरिनो र रोमा गोलअन्तरमा मिलानभन्दा पछि छ । पराजित बोलोग्ना १ अंक जोडेर १७औं स्थानमा छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्सले रोमासँग १–१ गोलको बराबरी खेलेको छ । युभेन्ट्सका डुसान भ्लाहोभिकले खेलको दोस्रो मिनेटमा फ्रिकिकमार्फत सिधै गोल गर्दा रोमाका ट्याम्मी अब्राहमले ६९औ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसअघि २५औं मिनेटमा युभेन्ट्सका म्यानुयल लोकाटेलीको गोलले मान्यता पाएन । यो बराबरीसँगै युभेन्ट्स ३ खेलबाट ५ अंक जोडेर सातौं स्थानमा रहँदा रोमा ७ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

प्रकाशित : , ०, ००९:५०

विपक्षी गोलकिपर उर्लिएपछि बार्यनको सबै प्रयास पानीमा, एक-एक गर्दै बचाए १९ शट !