एजेन्सी – बार्सिलोनाले आगामी दिनमा डेनिस फरवार्ड मार्टिन ब्रेथवेटसँगको सम्झौता रद्द गर्ने तयारी गरेको छ। विभिन्न स्पेनिस मिडियाहरुका अनुसार बार्सिलोनाले ब्रेथवेटसँगको सम्झौता ट्रान्सफर विन्डो सकिनु भन्दा अगाडी नै रद्द गर्ने तयारी गरेको हो।
ब्रेथवेटको बार्सिलोनामा अझै दुई वर्षका लागि सम्झौता छ। तर आर्थिक संकटका कारण यसै ट्रान्सफर विन्डोमा भित्र्याइका एक खेलाडीले लालिगामा दर्ता गर्न सकेको छैन। यस्तोमा बार्सिलोनामा केहि न केहि खेलाडीहरु देखि छुटकारा पाउनुपर्ने अवस्था छ। सोहि कारणले गर्दा बार्सिलोनाले ब्रेथवेट देखि छुटकारा पाउन खिजिरहेको हो।
बार्सिलोनाले ब्रेथवेटलाई सन् २०२० मा लेगानेसबाट भित्र्याएको थियो। त्यसबेला बार्सिलोनाले उनका लागि १८ मिलियन खर्च गरेको थियो। बार्सिलोनामा ब्रेथवेटको सम्झौता अझै दुई वर्ष छ। तर ब्रेथवेट गत सिजन देखि नै बार्सिलोनाको स्क्वाड भन्दा बाहिर छन्।
पहिलो सिजनमा उनले बार्सिलोनाका लागि लालिगामा ११ खेल खेलेका थिए। जसमा उनले एक गोल पनि गरेका थिए। दोस्रो सिजनमा उनले बार्सिलोनामा राम्रै मौका पाए। दोस्रो सिजनमा उनले बार्सिलोनाका लागि कुल ४२ खेल खेले। त्यसमा उनले ७ गोल गर्दै ४ असिस्ट दिए।
तर सन् २०२१-२२ को सिजनबाट भने उनी बार्सिलोनाको टोलीमा पर्नै छाडे। साथै उनलाई गत सिजन शरीरले पनि साथ दिएन। सन् २०२१-२२ को सिजनमा बार्सिलोनाका लागि ४ खेल मात्र खेले। चार खेलमा उनले २ गोल गर्दै एक असिस्ट भने दिए।
बार्सिलोनाका लागि ब्रेथवेट लगभग काम नआउने पक्का भइसकेको छ। गत ट्रान्सफर विन्डोमा नयाँ फरवार्ड थपिएको र यस ट्रान्सफर विन्डोमा नयाँ फरवार्डहरु थपिने पक्का भएका कारण उनले बार्सिलोनामा मौका नपाउने पक्का भएको हो।