काठमाडौँ – नेपालमा कोभिड –१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एकएक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
यससँगै नेपालमा १४ जना कोरोना सङ्क्रमित भएको पाइएको छ । उनीहरु दुवै भारतबाट आएको जनाइएको छ । उनले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुलाई सङ्क्रमण देखिएको जानकारी दिए।
सङ्क्रमितमध्ये रौतहटका १९ वर्षीय पुरुष तथा लम्कीकी ६५ वर्षीया महिला हु्न । ती महिला भने लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी छन् । अहिलेसम्म कैलालीमा छ, बागलुङ र काठमाडौँमा दुईदुई तथा रौतहटमा एक र पर्सामा तीन कोरोना सङ्क्रमित फेला परेका छन् ।
दुई दिनमै कोरोना संक्रमितको संख्या पाँचले बढ्यो
सोमबार दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसंगै यस हप्ता मात्र पाँच जना कोरोना संक्रमित भेटिएका छन्। आइतबार भेटिएका तीन र आज भेटिएका दुई गरी पांच संक्रमित फेला परेका हुन्।
आइतबार पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका तीन व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको पाइएको थियो। राष्ट्रिय प्रयोगशालामा शनिबार राति भएको परीक्षणबाट वर्ष ३७, ५५ र ४४ का तीन पुरुषमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको थियो। संक्रमित तीनैजना भारतीय नागरिक रहेको र सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन नेपाल आएको बताइएको छ।
नेपालमा कोरोनाको मूख्य श्रोत भारत
नेपालमा हाल सम्म देखिएका कोरोना भाइरस संक्रमणका घटना मध्ये धेरै जस्तोमा भारतको सम्बन्ध देखिएको छ। नेपालमा फेला परेका १४ संक्रमित मध्ये ७ जना भारतबाट आएको पाइएको छ। जस कारण अहिलेको अवस्थामा कोरोना भाइरसको मूख्य श्रोत भारत देखिएको छ।
आइतबार र सोमबार नेपालमा फेला परेका पाँच कोरोना संक्रमित, लम्कीका एक पुरुष र कञ्चनपुरका एक पुरुष गरी कोरोना संक्रमण देखिएका सातै जना भारतबाट फर्किएका र भारतबाट आयका हुन्।
लकडाउन प्रभावकारी बनाउन सीमा क्षेत्रमा थप निगरानी, छ हजार सशस्त्र प्रहरी परिचालन
सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा क्षेत्रमा मात्रै छ हजार जनशक्ति परिचालन गरेको छ ।
सीमा क्षेत्रमा अवैध रुपमा आवागमन नहोस् भन्ने ध्येयका साथ लकडाउनलाई प्रभावकारी बनाउन एक हजार ६८ स्थानमा पिकेट स्थापना गरी उक्त परिमाणमा जनशक्ति खटाइएको हो । केही स्थानमा भने सीमा पूर्ण रुपमा नै बन्द गरिएको छ भने कोही कसैलाई पनि आवतजावत गर्न नदिइने प्रबन्ध गरिएको छ ।
छाउनीस्थित नेपाली सेनाको रेञ्जर गणमा रहेको क्राइसिस म्यानजेमेन्ट सेन्टर (सिसिएमसी)का अनुसार सीमा सुरक्षाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बललाई नै थप प्रभावकारी रुपमा लकडाउन पालना गराउन परिचालन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार लकडाउनका समयमा हुने अवैध आवतजावतका कारण कोरोनाको सक्रमण फैलने सन्त्रासलाई रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बललाई उल्लेख्य मात्रामा परिचालन गरिएको र उनीहरुले २४ सै घण्टा सीमा निगरानी गरिरहेका छन् ।
पछिल्ला दिनमा भारतमा कोरोना सङ्क्रमणको दर बढीरहेको कारण पनि नेपालमा थप जोखिम उत्पन्न हुने अवस्थालाई सरकारले विशेष ख्याल गरेको छ । नेपाल–भारत सीमा नाकाको नियमति निगरानी गरी आवागमन पूर्णत बन्द गरिएको छ । देशभरको दैनिक शान्ति सुरक्षाको अवस्था समीक्षा गरी आवश्यकताअनुसार समन्वयात्मक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बाइस सय नेपाली भारतीय क्वारेन्टाइनमा
भारतमा कूल २ हजार २३० जना नेपाली नागरिक क्वारेन्टाइनमा रहेका छन् । उनीहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार १४ दिन क्वारेन्टाइनमा बसेपछि नेपाल आउन सक्ने र नेपालमा समेत थप परीक्षण गरेपछि मात्रै आ–आफ्नो घरमा जान सक्ने छन् तर उनीहरु पुनः घरमा नै क्वारेन्टाइनमा बस्नुपर्नेछ । यस्तै नेपालतर्फ पनि कूल ६६१ जना भारतीय क्वारेन्टाइनमा छन् । नेपाल भारत सीमा क्षेत्रमा रहेका ती नागरिकलाई नेपालतर्फ प्रदेश सरकारको समन्वयमा स्थानीय तहले र भारतमा रहेका नेपाली नागरिकलाई भारत सरकारले आवश्यक प्रबन्ध गरेको छ ।