काठमाडौं । सरकारले डेढ महिना सबै सार्वजनिक स्थल बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण दक्षिण पूर्वी एसियामा फैलन सक्ने डब्लुएचओको कडा चेतावनीपछि सरकारले सार्वजनिक स्थल बन्द गर्ने निर्णय गरेको हो ।
कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले २५ जनाभन्दा बढी भेला हुन समेत आह्वान गरेको छ । समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरूमा पनि बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
विभिन्न धार्मिक तथा सास्कृतिक कार्यक्रममा समेत ठूलो भिड नलगाउन आग्रह गरेको छ । ‘सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरूमा २५ जना भन्दा बढी मानिसहरू भेला हुन बन्द गर्ने’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,‘सोको अनुगमन गृह मन्त्रालय एंव संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गर्ने ।’
ध्यान दिनुपर्ने कुरा
-अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कनु,
-२५ जना भन्दा बढी एकैचोटी भेला नहुनु,
-सार्वजनिक सवारी साधन कम प्रयोग गर्नु।
समितिले भिडभाड हुने सबै स्थानलाई बन्द समेत गर्ने निर्णय गरेको छ । ‘सिनेमाहल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने’, उल्लेख छ ।
यो लागु भए नभएको अनुगमन गर्न तीन वटा मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । गृहमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने छ । साथै यी विषयको कार्यन्वयन अनुगमन प्रदेश सरकार तथा स्थानीय तह समेतले गर्ने समितिले निर्णय गरेको छ । आजको सौर्य दैनिकमा खबर छ।