काभ्रेको पनौती आसपासका क्षेत्रमा आज बिहान ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाइएको छ। सोमबारको दिन टिपरको ठक्करबाट दुई जनाको ज्यान गएपछि तनावग्रस्त बनेको पनौतीमा, अहिले बिहान ९ बजेदेखि पनौतीबजार क्षेत्रमा काभ्रे जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो।
पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कर्फ्यू आदेश जारी भएको कार्यालयले जनाएको छ ।
सोमबारको घटनालाई लिएर आज पनि परिस्थिति असहज बन्दै गएपछि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन्।
“परिस्थिति हिजोका घटनाले आज पनि भड्किन सक्ने अवस्था देखेपछि बिहान ९ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू आदेश जारी गरेका छौँ”, उनले भने।
प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि भन्दै गोली नै चलाएको थियो । झडपमा प्रहरीसहित केही स्थानीय पनि घाइते भएका छन् ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा पैदलयात्री आमाछोरीको ज्यान गएको थियो । त्यसपछि आक्रोशित आफन्तजनले पनौतीमा आन्दोलन गरेका थिए।