कोरोना भाइरसको प्रकोपका कारण, बजारमा मास्क अभाव देखिन थालेको छ। त्यहि अभावको फाइदा उठाउदै अन्य समयमा १० रुपैया पर्ने मास्क अहिले १० गुणाभन्दा बढी मूल्यमा उपभोक्तालाई कालोबजारीको रूपमा मास्क बिक्री भइरहेको छ ।
मास्कलाई सकेसम्म महँगोमा बेच्नका लागि केहि पसलहरुले मास्क लुकाउछन् भने कसैले सस्तोमा ल्याएर महँगोमा बेच्छन्।कालाबजारीयालाई नियन्त्रणमा लिने सरकारी अभियान अन्तर्गत सोमबार राजधानीको संतुङगलबाट प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा करिब ८ लाख ४९ हजार ६ सय थान मास्कसहित प्रहरीले दुई व्यापारीलाई पक्राउ गरेको छ ।
भारत राजस्थान घर भएका गोयल र महेश्वरीले कोरोना भाइरसको त्रास बढिरहेको मौकामा मास्कको कालोबजारी सुरु गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।गोयल र महेश्वरी भारतीय मूलका व्यापारी रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले चन्द्रागिरी नगरपालिका–१० संतुङगलको एउटा गोदाममा छापा मारेर ८ लाख ४९ हजार ६ सय थान मास्क बरामद गरेको हो। सोमबार बिहान आरडीजी इन्टरनेशनल सप्लायर्समा अनुगमन गर्दा उक्त परिमाणको मास्क फेला परेको बताइएको छ।
सोहि सप्लायर्सका संचालकहरुले कपनमा लुकाइराखेको १ लाख ६८ हजार मास्क पनि आइतबार बरामद भएको थियो। लाख भन्दा बढी मास्क लुकाइएको खुल्न आएसँगै थप अनुसन्धान गरिएको थियो। संतुङगलमा समेत ठूलो मात्रामा मास्क लुकाएको थाहा हुनआएपछि आइतबार सतुङ्गलको गोदाम पनि नियन्त्रणमा लिइएको थियो। कपनबाट प्रहरीले बा ७ च ७२६३ नम्बरको गाडी, गाडी चालक र हेल्परलाई समेत नियन्त्रणमा लिएको छ ।
आइतबार शिल गरिएको उक्त गोदाममा सोमबार पुनः छानबिन गर्दा १० लाख थान मास्क बरामद भएको हो। कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणको जोखिम भएका बेला यसरी प्रहरीले मास्क बरामद गरेको हो । कालोबजारी गरेको आरोपमा मास्कसहित सात जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
सप्लायर्सका चार मुख्य संचालक सहित अन्य तीन अहिले प्रहरी नियन्त्रणमा छन्। यसअघि शनिबार प्रहरीले काठमाडौँको डल्लुबाट ७८ हजार मास्क बरामद गरी आठ जनालाई पक्राउ गरेको थियो । उनीहरुले पाँच रुपैयाँ पर्नै मास्कलाई ३० देखि ४० रुपैयाँमा बिक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले काठमाडौँमा खोजी अभियान जारी राखेको छ ।