काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमणको आशंका भएका व्यक्तिहरु आफैं क्वारेन्टाइनमा बस्नुपर्ने बताएका छन्।
राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्ने क्रममा मन्त्री ढकालले कुनै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको आशंका भएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने बताएका हुन्।
चीनको वुहानबाट ल्याएका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिए जसरी अन्य व्यक्तिहरुलाई सरकारले क्वारेन्टाइनमा राख्न सम्भव नहुने हुँदा कोरोना आशंका भएपछि आफैं क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए।
“विभिन्न ८ मुलुकबाट आउने नागरिकलाई त्यहाँको चिकित्सकले बढीमा ७ दिन अगाडि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश हुन्छ । १४ दिन क्वारन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउँछ। क्वारेन्टाइन भन्ने वित्तिकै मान्छेहरुले हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौँ । अब सेल्फ (आफै) क्वारेन्टाइनमा मान्छेहरु बस्नुपर्छ ।”,उनले भने।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफै क्वारेन्टाइनमा बस्नुपर्ने उनको भनाई छ। डब्ल्युएचओको मापदण्डभित्र बसेर सरकारले तयार पार्ने मापदण्ड अनुसार आफै क्वारेन्टाइनमा बस्नुपर्ने उनले स्पष्ट पारे।
“ब्ल्युएचओको मापदण्डभित्र बस्नुप-यो । दिनैपिच्छे ज्वरु आको छ छैन भन्ने नाप्न सकिहाल्छ । कति दुरी मेन्टेन गर्ने, के खाने, परिवारका सदस्यसँग कस्तो व्यवहार गर्ने, के गर्ने, के नगर्ने भन्ने कुराको प्रोटोकल हामीले तयार गरेका छौँ ।”,उनले भने।