शंका लागेर मापसे चेकजाँच गर्दा प्रहिलाई घूस दिन खोजेको आरोपमा एकजनालाई पुलिसले पक्राउ गरेको छ ।
आइतबार बिहान साँढे सात बजे कलंकीमा मापसे चेकजाँच गर्ने क्रममा एक व्यक्तिले घूस दिन खोजेको भन्दै प्रहरीले उक्त व्यक्तिलाई पक्राउ गरेको हो। त्यस व्यक्ति काठमाडौँ स्थित चन्द्रागिरी नगरपालिका-८ का वासिन्दा रहेको प्रहरीले जनाएको छ ।
शंका लागेर उनलाई मापसे जाँच गर्दा उनले मादक पदार्थ सेवन गरेका थिए । त्यसपछि ती व्यक्तिले पुलिसलाई पहिला तीन हजार घूस दिन खोजे । तर प्रहरीले घूस लिन मानेनन् र ती व्यक्तिलाई थप कारबाहीको लागि प्रहरी कार्यलय पठाइयो।
तर कार्यलय जाँदा जाँदै बाटोमा उनीसंगै रहेका एक प्रहरी जवानलाई उनले थप दुई हजार सहित पाँच हजार रुपैंया दिन खोजे । “मापसे मात्र गरेको भए हामी जरिवाना तिराउने थिएनौं तर, एक ड्युटीमा रहेको प्रहरीलाई आर्थिक प्रलोभन देखाउनु भयो” ,महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्स्पेक्टर पुरुषोत्तम कार्कीले भने ,”हामीले उहाँलाई पक्राउ गरि थप कारबाहीका लागि महानगरीय प्रहरी वृत कलंकीमा पठाएका छौं ।”
उनका अनुसार पक्राउ परेका व्यक्ति आइतबार तीन पल्ट बेहोस भएका थिए । ती व्यक्तिले आफूलाई मधुमेह, रक्तचाप जस्ता बिमारी रहेको प्रहरीलाई बताएको पनि इन्स्पेक्टर कार्कीले जानकारी दिए।
उनलाई अहिले हिरासत बाहिरै राखेर अभद्र व्यवहार गरेको मुद्दामा अनुसन्धान गरिरहेको पनि कार्कीले जानकारी दिए।