काठमाडौँ – नेपालबाट अष्ट्रेलिया फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
बिदा मनाउन नेपाल आएर अष्ट्रेलिया फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको हो। अष्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले २० वर्षका एक नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण देखिएको पुष्टि गरेका छन्।
हाल उनको आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। बताइएअनुसार, उनी फेब्रुअरी २६ तारिखमा नेपालबाट बिदा मनाएर अष्ट्रेलिया फर्किएका थिए।
अष्ट्रेलियाका समाचार माध्यमहरुका अनुसार उनी सिंगापुर र सिड्नी हुँदै होबार्ट पुगेका थिए। उनी अष्ट्रेलियन आइडल कलेजका विद्यार्थी हुन्। उनी नेपालबाट फर्किएपछि दुई पटक कलेज गएको र उनले ग्रान्ड चान्सलर होटलमा पनि विभिन्न सिफ्टमा काम गरिसकेको बताइएको छ।
उनीसँग सम्पर्कमा आएका सह–कर्मीहरुलाई पहिचान गर्ने काम भैरहेको र पहिचान भैसकेकाहरुलाई १४ दिनको क्वारेन्टाइनमा राखिएको संचार माध्यमहरुले जनाएका छन्। उनी सँगै बस्दै आएका चार जना र अन्य तीनजना हाल क्वारेन्टाइनमा छन्।
सिंगापुर ट्रान्जिट भएर फर्किएका उनलाई फेब्रुअरी २७ तारिखमा रुघा खोकी लागेता पनि उनले नजरअन्दाज गरेका थिए। पछि स्वास्थ्य बिग्रिएपछि मात्रै मार्च ६ मा उनी हेल्थ हटलाइनको सम्पर्क आएको स्वास्थ्य अधिकारीहरुको भनाई छ।