फुट पछि जुटेको राप्रपामा तीन अध्यक्ष: ब्रम्हलुटबाट दिक्क भएका जनताले विकल्प पाउने दावी !

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकीकरण गर्ने भएको छ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र अध्यक्षद्वय पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकीकरण गर्ने निर्णयमा पार्टी नेतृत्व पुगेको हो।

पार्टी एकीकरण बारे लाजिम्पाटको लप्सी गार्डेन होटेलमा शनिबार साँझ एकीकरणसम्बन्धी पत्रमा हस्ताक्षर समेत भएको छ। शनिबार भएको सहमति अनुसार फागुन २८ गते पार्टी एकताको घोषणा हुनेछ।

एकिकृत पार्टीमा तीन अध्यक्ष रहने बताइएको छ। एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) रहनेछ। चुनाव चिन्ह बारे भने एकीकरण घोषणा भएपछि टुङ्गो लगाइने बताइएको छ।

यसै बीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा फुटेर बनेका पार्टीहरुको एकीकरणले राष्ट्रवादी नेपालीहरुमा खुसी छाएको बताएका छन्।

पार्टीको एकीकरणले ठूला दलको ब्रम्हलुटबाट दिक्क भएका जनताले विकल्पको रुपमा आफूहरुलाई पाउने उनले विश्वास गरेका छन्। सामजिक संजाल ट्वीटर मार्फत उनले यस्तो बताएका हुन्।

“एकताको सुखद घडीमा पार्टीलाई मायागर्ने सबैमा बधाई। एकताबाट राष्ट्रवादी नेपालीहरुमा खुसी छाएको छ। ठूला दलहरुको ब्रम्हलुटबाट दिक्क भएका जनताले भरोसा गर्नसक्ने बलियो विकल्प बनाउने जिम्मेवारी अव हाम्रो हो। आजैदेखि नयाँ उर्जाकासाथ संगठन निर्माणमा जुट्न पार्टी कार्यकर्ताहरुमा आह्वान गर्दछु”,उनले ट्वीटरमा लेखेका छन्।

प्रकाशित : , ०, ००५:२०

“विकासको मूल फुट्न थालिसक्यो, वर्तमान सरकारले मुलुकलाई धेरै अगाडी लैजान्छ”