काठमाडौँ – शुक्रबार पाल्पामा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। टिप्परको ठक्करबाट पाल्पामा शुक्रबार दिउँसो एक जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा तानसेन-७ की ५५ वर्षीया मधु श्रेष्ठ रहेकी छन्।
शुक्रबार तानसेन-७, लामीडाँडा स्थित सिद्धार्थ राजमार्गमा तानसेनबाट बुटवल जाँदै गरेको लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई त्यसै दिशातर्फ जाँदै गरेकाे लु २ ख ३१७८ नम्बरको टिप्परले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पाल्पा प्रहरीका अनुसार ठक्करबाट ज्यान गुमाउने श्रेष्ठ मोटरसाइकलको पछाडी बसेकी थिइन्। दुर्घटनामा परी मोटरसाइकल चालक ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएको बताइएको छ।
मोटरसाइकलमा सवार श्रीमान-श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटना पश्चात गम्भीर घाइते भएका श्रेष्ठ दम्पतिलाई अस्पताल लैजाने क्रममा श्रीमतीको ज्यान गएको प्रहरीको भनाई छ।
घाइते हिमालप्रसाद श्रेष्ठको अवस्था गम्भीर रहेको छ भने उनको लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ। ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिसकेको छ।