काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन्। नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले राजिनामा माग गरेका हुन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले भ्रष्टाचारीलाई कारवाही गर्न नसक्ने प्रधानमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग गरे।
आफ्नो शरीरको अंग काम नलाग्ने भएपछि फेरे जस्तै देश र जनताका लागि काम नलाग्ने व्यक्ति र आसेपासेहरु फेर्न नसक्ने व्यक्तिले राजिनामा दिनुपर्ने उनको माग छ।
“प्रधानमन्त्रीज्यू शरीरको अंग भएर पनि काम नलाग्ने भएपछि त फेर्न पर्दो रहेछ नि । त्यसैले आफ्नो आसेपासे भए पनि देश र जनताको काम नलाग्ने मान्छे, भ्रष्टाचारहरुलाई किन कारबाही अहिलेसम्म भइराखेको छैन ? नैतिकताको आधारमा राजीनामा दिन जोडदार माग गर्न चाहन्छु ।”,उनले भने।
देशमा भ्रष्टाचारले आम जनताको रगत र पसिना चुसिरहेको हुँदा कोरोना भाइरस भन्दा भ्रष्टाचार ठूलो समस्या रहेको उनले उल्लेख गरे। भ्रष्टाचार देशको मुटु, फोक्सो, कलेजो र नशा नशामा पसेको भन्दै उनले सरकार प्रति आक्रोश पोखे।
छिट्टै काममा फर्कन्छु : प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले केहीबेरअघि प्रधानमन्त्रीसँग सङ्क्षिप्त संवाद गरेका छन् ।
सल्लाहकार रिमालले ट्वीट गर्दै प्रधानमन्त्रीको सन्देश यसरी प्रवाह गरिएको छ, “साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्य तीव्रगतिमा सुधार भइरहेको छ, छिट्टै काममा फर्कन्छु ।”