काठमाडौँ, फागुन २३। फागुन महिनामा सुनको मुल्य लगातार उकालो लागिरहेको छ । बिहिबार तोलामा २ सय रुपैयाले बढेको सुनको मुल्य आज फेरी ह्वातै बढेको छ । आज सुनको मुल्य तोलामा १८ सय रुपैयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा १८ सय रुपैयाले नै बढेको छ। आज तेजावी सुन प्रतितोला ८२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । बिहिबार छापावाला सुनको मुल्य प्रेतितोला ८० हजार ७ सय र तेजावी सुन ८० हजार ४ सय रुपैयामा कायम रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा परेसँगै यहि महिनामा सुनको मूल्यले रेकर्ड नै कायम गरेको छ । आजको सुनको मुल्यले नया रेकर्ड कायम गरेको छ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला ८ सय ९० रुपैयामा कायम भएको छ ।
पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना-व र चीन-अमेरिका व्यापार यु-द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ। महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।