अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सहकारीमा देखिएका विकृतिका कारण सहकारी बद्नाम बन्दै गएको बताएका छन् ।
राष्ट्रिय सहकारी महासङ्घको आयोजनामा आज धनगढीमा आयोजित ‘प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी’ भन्ने नारासहित प्रादेशिक गोष्ठीमा उनले सहकारीले वर्षैपिच्छे अनुदान मात्र लिने परिणाम दिन नसक्दा विपन्न वर्गको आर्थिकस्तरमा सुधार आउन नसकेको बताए।
उनले सहकारीले जनताको जीविकोपार्जनमा टेवा पुर्याउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। उनले पछिल्लो पटक सहकारी दर्ता गर्नेक्रम बढेको बताउँदै एउटै प्रकृतिका सहकारी मर्जर गर्नु आवश्यक रहेको उल्लेख गरे। राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सहकारीले देशको आर्थिक विकासका लागि महत्वयूर्ण योगदान दिँदै आएको बताए।
संसदीय समितिद्वारा हुलाकी सडक आयोजनालाई निर्देशन
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले हुलाकी सडकअन्तर्गत कैलाली खण्ड यथाशीघ्र निर्माण गर्न विभिन्न सरोकारवाला पक्षलाई निर्देशन दिएकी छन् ।
सभापति खड्का सहितको टोलीले आज हुलाकी सडकको कैलाली खण्डको कैलारी गाउँपालिकाको वसन्ता क्षेत्र, भजनी नगरपालिकाको लालबोझी तटबन्ध, भजनी लालबोझीको ठेकीपुर पुल र सत्ती पुलको स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो ।
सो अवसरमा संसदीय समितिका सभापति खड्काले वसन्ता क्षेत्रको दुई किलोमिटरमा रहेका रूख काट्न पहल थाल्न वन कर्मचारीलाई निर्देशन दिइन् । उनले हुलाकी राजमार्गमा पर्ने कान्द्रा नदीमा निर्माणाधीन ठेकीपुर पुल चाँडै बनाउन निर्माण कम्पनीका ठेकेदारलाई निर्देशन दिइन् । संसदीय टोलीलाई वसन्ताको वन सबडिभिजन कार्यालयका फरेस्टर प्रेम विष्टले वसन्ताको दुई किलोमिटरमा पर्ने रूखको सङ्ख्याबारे प्रतिवेदन पठाउन केही दिनअघि वन मन्त्रालयले पत्र पठाएको जानकारी दिए।
उनले हुलाकी सडक आयोजनाको सहयोगमा चाँडै रूखको लागत प्रतिवेदन पठाइने जानकारी दिए। उनका अनुसार सडकको मुख्य बिन्दुबाट दुवै किनारामा छ मिटरको परिधिमा काटिने रूखको सङ्ख्या विवरण मन्त्रालयले मागेको छ । संसदीय समितिका सभापति खड्का नेतृत्वको टोलीमा रहेका हुलाकी आयोजना धनगढीका इन्जिनीयर पदम मडैले एक–दुई दिनमै सडकको बिन्दु निक्र्यौल गरिने जानकारी दिए।
त्यस्तै २०६८ सालमा टेन्डर भएर पनि अझैसम्म निर्माण हुन नसेकेको भजनी नगरपालिका–५ लालबोझी ठेकीपुरको पुल पनि चाँडै निर्माण गर्न सभापति खड्काको टोलीले निर्माण कार्यमा संलग्न पक्षलाई निर्देशन दिए। सो पुल निर्माणमा खटिएका इन्जिनीयर विकास कर्णले चालू आवको असार मसान्तमा सो पुलमा गाडी गुडाउने गरेर काम भइरहेको सभापति खड्कालाई जानकारी दिए।
टोलीमा समितिका सदस्य आशाकुमारी विक, कैलाली क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य गौरीशङ्कर चौधरी, पूर्वसभासद मदनकुमारी शाह, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल, कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी, भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरी र उपप्रमुख छाया देवकोटा, समितिका सचिव ओम कार्की, कर्मचारी र विज्ञको सहभागिता थियो ।
कैलाली खण्डको हुलाकी सडक निर्माण कार्य धेरै सकिएको भए पनि विभिन्न कारणले धनगढी क्षेत्र, वसन्ता क्षेत्र र भजनी लालबोझीका सडक तथा पुल निर्माण कार्य पूरा हुन नसकेको अनुगमनका क्रममा पाइएको सभापति खड्काले प्रतिक्रिया दिइन्। सो सडक बनेमा पूर्वपश्चिम राजमार्गको तुलनामा टीकापुर, भजनीका साथै नेपालगञ्ज पुग्नसमेत छोटो दूरी रहनेछ ।